जनसम्पर्क समितिमा चुनाउ लागेको एक वर्ष भयो । जापानमा रहेका नेपाली काँग्रेस समर्थकहरुको सँस्था जनसम्पर्क समिति अरु राजनैतिक प्रकृतिका संस्थाभन्दा धेरै जिनो-पाको र पुरानो हो । त्यहाँभित्र धेरै दिग्गजहरु पनि छन् । यसअर्थमा उसको सिको अरुले गर्नुपर्ने हैसियत राख्नुपर्दथ्यो । तर त्यसो हुन सकिरहेको छैन । उसो त जापानमा अरु देशका नागरिकहरुले राजनीतिक प्रकृतिको संस्था खोलेर सो अनुसारको गतिविधि गर्न बन्देज छ । तथापि अन्य सामाजिक प्रकृतिका संस्थाको नामबाट समान वैचारिक आस्था भएका नेपालीहरु एउटा समुहमा गोलबन्द भएर त्यतिधेरै हल्ला नगरिकन आफ़्न गतिबिधि सञ्चालन गरिने गरिन्छ । जनसम्पर्क समितिको इतिहासदेखि वर्तमानसम्म नजिकबाट नियालिरहेको नाताले पछिल्ला समयमा त्यहाँभित्र देखिएका गतिबिधि र बाहिरबाट हेर्दा देखिने परिदृश्यका बारेमा आफुलाई लागेको केही कुरा राख्ने जमर्को गरेको छु ।
‘उत्ताउलो कुकुर सम्साँझै भुक्छ’, ‘नयाँ जोगीले धेरै खरानी घस्छ’ भन्छन् हामी नेपालीमा कहिं न कहिं यो लागु भईरहेकै हुन्छ । अघिल्लो वर्ष केन्द्रका प्रभावशाली नेताहरु सपत्नीसहित झण्डै आधा दर्जन काँग्रेसजन टोकियोमा जनसम्पर्कको अधिवेशनमा सहभागिता गराईयो, महिनौदेखिको तामझाम र गृहकार्यका साथ सुरु भएको अधिवेशन बिना उपलब्धि, बिना निश्कर्ष टुंगियो । जसले गर्दा अघिल्लो कार्यकालका नेतृत्वले आफ़्नो कार्यकालमा जतिसुकै राम्रो काम, सक्रियता र क्रियाशीलता देखाएको भए पनि आफ़्नो बहिर्गमन अर्थात नेतृत्व हस्तान्तरण जस्तो महत्वपूर्ण जिम्मेवारी स्वभाविक प्रक्रियाबाट सम्पन्न गर्न नसकेको आरोप खेप्नुपर्यो र खेपिरहेको छ त्यो स्वभाविक पनि छ । प्रभावशाली एवं जिम्मेवार मानिने केन्द्रीय नेताहरुले पनि आफ़्नो गरिमामय उपस्थितिलाई आफैले हलुका र फिका पारेर फर्किए । उनीहरु जापानको रमिता हेरे, २, ४ दिन घुमफिर गरे अनि फर्के, यसले गर्दा केन्द्रीय नेताहरुको ओझ र विरासतलाई घाटा पुर्यायो । आफु मातहतको निकायका सामान्य विवादलाई मिलाउन नसक्ने केन्द्रीय नेताहरुले सिंगो पार्टीभित्रको गुट उपगुट, चिराचिरामा बिभाजन हुने संस्कार र देशकै समस्याको हल कसरी खोज्लान् ? सर्बसाधारणले प्रश्न गर्ने ठाउँ रहनु अस्वभाविक मान्न नसकिएला । यसभित्रको गाँठी कुरा खोतल्ने हो भने नेताहरु आफु आफु नै फरक फरक कित्तामा उभिएका कारण अर्थात फरक फरक ब्यक्तिलाई काखी च्याप्नुका कारण नै विवाद सल्टिन नसकेको हो भनेर अनुमान लगाउन जो कसैलाई गाह्रो नपर्ला । नत्र किन मिल्दैन विवाद पार्टीको महामन्त्री, प्रवासको जनसम्पर्क समिति हेर्ने जिम्मेवार ब्यक्तिलगायत प्रभावशाली केन्द्रीय नेताहरु उपस्थित भएको अधिवेशनमा ? यो प्रश्नको जबाफ अझै बाहिर आउन सकेको छैन ।
नेपाली जनसम्पर्क समिति जापानका संस्थापक अध्यक्ष बिश्वनाथ शर्मा हुन भने महामन्त्री योगेन्द्र हिराचन हुन् । तत्कालिन बिषम अवस्थामा पनि जापानका विभिन्न सहरमा पुगेर समान विचार भएका नेपालीहरुलाई गोलबन्द गर्दै जनसम्पर्क समितिको सन् २००० मा बिधिवत गठन भएको हो । त्यतिबेला नेपाली काँग्रेसका तत्कालिन महामन्त्री वर्तमान प्रधानमन्त्री सुशिल कोइराला, तत्कालिन बिदेश बिभाग प्रमुख अर्जुननरसिंह केसी र कास्कीका तत्कालिन सभासद प्रकाशबहादुर गुरुङ जापान आएका थिए । यि तिनै जना काँग्रेसी नेताहरुसंग तत्कालिन मुलुकको समसामयिक राजनीतिक वस्तुस्थितिका बारेमा पंत्तिकारले अन्तर्वार्ता छापेको थियो । त्यसपछि यता जनसम्पर्क समितिको अधिवेशन यति धेरै चर्चाको बिषय बन्ने गरेको थिएन । सहमतिमै नेतृत्व चयन हुँदै आएको जनसम्पर्क समितिमा अघिल्लो वर्ष देखिएको नेतृत्वमोहको असर जापानको नेपाली समाजका अन्यत्र पनि कहिं न कहिं कुनै न कुनैरुपमा पर्ने नै भयो । जसले गर्दा एउटा इगोको बिजारोपण भयो, त्यसैको परिणाम हो भन्न सकिन्छ अहिलेको चुनावी रडाको र अर्को सँस्कार ‘प्यानलिज्म’ । ‘हेर्दाहेर्दै भाउजु राँड’ भनिएझैं जनसम्पर्क भित्र हेर्दाहेर्दै प्यानलिज्म सँस्कार भित्र्याईयो, यो प्रवृत्ति गलत छ । यसलाई पार्टी केन्द्रमा रहेको गुटबन्दीको कालो धब्बा हो भनेर अनुमान लगाउनु अर्घेल्यांई नहोला । समाजका लागि यो घातक हुन सक्छ । नचाहेर पनि यो सँस्कारको अरुले सिको गर्न सक्छन् । त्यहाँभित्रका जेठा-पाकाहरुले यसलाई रोक्न सक्नुपर्थ्यो । चुनावै भए पनि ध्रुविकरणको हदसम्म नगएको भए अस्वभाविक मान्न सकिने थिएन ।
जनसम्पर्क समितिको इतिहासमा यतिधेरै चुनावी सरमागर्मी देख्नुपरेको पहिलोपटक हो । जापानको यति सानो समुदायमा जनसम्पर्क समितिको गत वर्षको अधकल्चो अधिवेशनले जुन नकारात्मक सन्देश दियो, त्यसलाई यसपटकको अधिवेशनले सच्याउन सक्नुपर्दछ । कारण र कारक जे सुकै भएपनि दर्जनौ संघसंस्थाका प्रतिनिधिलाई अतिथिकारुपमा आमन्त्रणा गरिएको, जिम्मेवार केन्द्रीय नेताहरुको बिशेष उपस्थिति रहेको, सयौं शुभेच्छुक तथा आगन्तुकहरु भेला भएको अधिवेशन धेरैले मर्यादित, सभ्य र भब्य हुने अपेक्षा गरेका थिए, सो अनुरुप नहुँदा आयोजक पक्षले कुनै आधिकारिक क्षमायाचना या सार्बजनिक स्पष्टिकरण दिने आवश्यक ठानेन । सबैभन्दा लामो प्रजातान्त्रिक अभ्यासको इतिहास बोकेको भनिने पार्टीको भ्रातृ संस्थालाई त्यो सुहाउने कुरा थिएन । देशको जिम्मेवार पार्टीको महामन्त्री तहको नेता उपस्थित भएको अधिवेशनमा नेताहरुको समसामयिक राजनैतिक परिदृश्यका सम्बन्धमा ताजा अभिब्यक्ति सुन्न भेला भएकाहरु लुरुलुरु फ़र्कनुपरेको दृश्य साँच्चिकै दुखद थियो । तर जिम्मेवार पक्षबाट त्यसको दायित्वबोध हुन सकेन । यसलाई सच्याउन जरुरी छ ।
जापानको नेपाली समुदायका लागि केवल राजीतिक आग्रह-पूर्ग्रग्रहले सीमित घेराभित्रको सोंचाईभन्दा बृहत्तर नेपालीहितका लागि चिन्तन र मनन गर्ने नेतृत्वको जरुरी छ, चाहे त्यो जुनसुकै संस्थामा किन नहोस् । वैचारिक आस्था र चिन्तन आफ़्नो ठाउँमा छ त्यसको अभ्यास हुने आफ़्नै प्लेटर्फमहरु छन्, यद्यपि साझा एजेण्डा र राष्ट्रिय मुद्दामा सँधै अग्रपंत्तिमा रहेर नेपाली समाजकै अगुवाई गर्न सक्ने नेतृत्वहरु अब आगडि आउनुपर्दछ । अहिलेको जनसम्पर्क समितिको चुनावी माहौल हेर्दा नयाँ तन्नेरी पुस्ताका युवाहरु नेतृत्वको लागि लाइनमा छन् । यो आफैमा सकारात्मक पक्ष हो, नेतृत्व उत्पादनको अभ्यासमा यो एउटा परीक्षा मान्न सकिएला । यद्यपि केहि चरणहरु पार गर्दै सिलसिलाबद्ध ढंगले जिम्मेवारी लिने र दिने प्रक्रियालाई यहाँ अस्वभाविक मान्न सकिन्न । त्यो संस्कार जेठो र जिम्मेवार संस्थाबाट अरुले सिकून् भनेर अपेक्षा किन नगर्ने ?
यतिखेर नेपाली जनसम्पर्क समितिको पाँचौ अधिवेशन भनेकै निर्वाचन हो, नेतृत्व चयन गर्ने हो भन्ने खालको बुझाईले घर बनाएको छ । संस्थाको बिधि, बिधान, नीति, योजना र भावी कार्यक्रम, कार्यदिशा लगायतका अधिवेशनले तय गर्ने महत्वपूर्ण पाटाहरु चुनावी उच्छबासको ओझेलमा परेका छन् । यसको सिधा अर्थ नीति भन्दा नेतृत्वलाई प्राथमिकतामा राखिएको सहजै अनुमान लगाउन सकिन्छ । एनआरएन जापानको हुलाकी निर्वाचनको तामझाम र त्यसले चयन गरेको नेतृत्व अनि त्यसपछिको गतिविधि हेरेर जापानका नेपालीले धेरै कुराको आंकलन गर्न सकिन्छ कि चुनाव नै सबथोक हैन, नेतृत्व चयनका नाममा हुने समय, जनशक्ति लगायतका लगानीले गर्दा अरु धेरै कुरा ओझेलिन्छन् । भएभरको समय र शक्ति निर्वाचनमा लगानी गरेर प्रवासमा रहेको सानो नेपाली समुदायलाई प्राप्त हुने भनेको केवल एक थान नेतृत्व हो । त्यसैले यी र यस्ता धेरै कुरा विचार गरेर जापानको नेपाली समुदायले अब चुनावमुखी भन्दा परिणाममुखी दिशा अपनाउन सक्नुपर्दछ । ***