समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जेठ १५ गतेको विरोध आन्दोलन पूर्णतः शान्तिपूर्ण हुने बताएका छन्। तर, यदि कुनै हिंसा भयो भने त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने चेतावनी दिएका छन्। संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै शाहीले प्रधानमन्त्रीले उत्तेजक भाषणमार्फत भिडन्तको वातावरण सिर्जना गर्न खोजेको आरोप लगाए।
शाहीले गृहमन्त्रीको राजीनामा नभएसम्म संसद चल्न नदिने पनि बताए। साथै, उनले नागरिक बेचबिखनजस्ता गम्भीर आरोपका बीच गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको बताए। उनले सरकार र सत्तापक्षले प्रतिपक्षका आवाजलाई दबाउन खोजेको, सभामुखले समेत निष्पक्ष भूमिका नखेलेको आरोप लगाए।
शाहीले प्रधानमन्त्रीले संविधान र कानुनको उल्लंघन गर्दै देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको आरोप पनि लगाए। साथै, भिजिट भिसाका नाममा मानव बेचबिखन बढेकोप्रति चिन्ता व्यक्त गर्दै, सरकारले त्यसविरुद्ध गम्भीर कदम चाल्नुपर्ने माग गरे। संसद अवरोधको जिम्मेवारी विपक्षी होइन, सत्तापक्ष र सरकारले लिनुपर्ने उनले स्पष्ट पारे।