काठमाडौं – भिजिट भिसा प्रकरणमा नाम मुछिएपछि गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेका आरोपबारे प्रस्ट्याउने तयारी गरेका छन् । उनले यसका लागि पहिलो प्राथमिकता प्रतिनिधिसभालाई दिएका छन्, तर विपक्षी दलहरूको अवरोध जारी रहे पत्रकार सम्मेलनमार्फत आफ्नो भनाइ सार्वजनिक गर्ने उनको योजना छ ।
गृहमन्त्री लेखकले संसद्मा बोल्नका लागि समयसमेत मागिसकेका छन् । यद्यपि, प्रमुख प्रतिपक्षी दल लगायतले उनको राजीनामा माग गर्दै निरन्तर संसद् बैठक अवरुद्ध पारिरहेका छन् । ‘सकेसम्म संसद् अवरोध हटाएर त्यहीँ (सदनमा) सम्बोधन गर्ने पहिलो प्रयास हुनेछ,’ गृहमन्त्री निकट स्रोतले भन्यो, ‘यदि अवरोध कायमै रहे विकल्पका रूपमा पत्रकार सम्मेलन आयोजना गरिनेछ ।’
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताको आरोप लगाउँदै उनको राजीनामालाई प्रमुख माग बनाएर सदन चल्न दिएका छैनन् । यही पृष्ठभूमिमा गृहमन्त्री लेखकले आफ्नो धारणा सार्वजनिक गर्न चाहेका हुन् ।