टोकियो – जापानको ह्योगो प्रान्तस्थित मिकी शहरमा प्रहरीले एक २६ वर्षीया युवतीलाई आफ्नै घरमा नवजात शिशु (बालक) को शव त्यागेको गम्भीर आरोपमा पक्राउ गरेको छ । प्रहरीका अनुसार, पक्राउ पर्नेमा आओइ हारादा नाम गरेकी एक आंशिक समय काम गर्ने कर्मचारी हुन् ।
उनले आफूमाथि लागेको आरोप स्वीकार गरेकी छिन् । उनले प्रहरीसमक्ष भनेकी छिन्, ‘यदि मेरा आमाबुबाले यो कुरा थाहा पाए भने उहाँहरू रिसाउनुहुन्छ भन्ने मलाई डर थियो ।’
हारादाले मे २० मा आफ्नो घरको दोस्रो तलामा रहेको बाथरूममा बच्चा जन्माएकी थिइन् । शिशुको पोस्टमार्टम रिपोर्टले मृत्युको कारण संक्रमण भएको देखाएको छ । अविवाहित हारादा आफ्ना बुबा, आमा र दाइसँग बस्दै आएकी थिइन् ।
मे २३ को राति, हारादाको व्यवहारमा शंका लागेपछि उनका बुबा कोठामा गएर हेर्दा ओछ्यानमा कम्बलले बेरिएको अवस्थामा नवजात बालकको शव फेला पारेका थिए । हारादाका आमाबुबा र दाइले उनी गर्भवती भएकोबारे आफूहरूलाई कुनै जानकारी नभएको बयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।