काठमाडौं – अमेरिकामा अध्ययनको आकांक्षा राख्ने नेपाली विद्यार्थीहरूको संख्या बढ्दो देखिए पनि पछिल्लो महिनामा अमेरिकी ‘एफ-वान’ (F-1) विद्यार्थी भिसा प्राप्तिमा गिरावट देखिएको छ । अमेरिकी विदेश मन्त्रालय अन्तर्गतको कन्सुलर अफेयर्स ब्युरोले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, मार्च २०२४ मा ७६१ नेपालीले विद्यार्थी भिसा प्राप्त गरेका छन् । यो संख्या फेब्रुअरीको तुलनामा ४१ ले कम हो ।
वर्गीकृत विज्ञापन
फेब्रुअरीमा ८०२ नेपाली विद्यार्थीले एफ-वान भिसा पाएका थिए, जुन चालु आर्थिक वर्षको अहिलेसम्मकै उच्च संख्या थियो । यसअघि जनवरीमा ७५०, डिसेम्बरमा ६१६, नोभेम्बरमा १६७ र अक्टोबरमा ७१२ नेपालीले यस्तै भिसा पाएका थिए । मार्च महिनामा एफ-टु (F-2) भिसा जुन एफ-वान भिसाधारीका आश्रित (डिपेन्डेन्ट) परिवारका सदस्यलाई प्रदान गरिन्छ । याे ३६ नेपालीले प्राप्त गरेका छन् ।
हालैका महिनामा अमेरिकी कलेज तथा विश्वविद्यालयहरूले विदेशी विद्यार्थीप्रति कडाइ गर्दै आएका भए पनि आर्थिक वर्ष २०२४ (अक्टोबर २०२३ – सेप्टेम्बर २०२४) मा १३ हजार १८७ नेपालीले एफ-वान भिसा प्राप्त गरिसकेका छन् । यो संख्या आर्थिक वर्ष २०२३ को तुलनामा दोब्बरभन्दा बढी हो ।
स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर इन्फरमेसन सिस्टमको पछिल्लो रिपोर्टअनुसार, हाल अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरूको संख्या २३ हजार ४३५ पुगेको छ । तीमध्ये १० हजार ४३० पुरुष र ६ हजार ५०३ महिला छन् । जनवरी २०२४ मा उक्त संख्या २० हजार १५३ थियो भने मार्चमा उल्लेखनीय वृद्धि देखिएको हो ।