समाचार सुन्नुहोस :
काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग र घुस लिने गिरोह सक्रिय भएको आरोपका कारण प्रतिनिधि सभा तनाबपूर्ण देखिएको छ। प्रमुख प्रतिपक्षी दलहरू गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद् अवरुद्ध गरेका छन्।
गंभीर आरोपमा निष्पक्ष छानबिनको बाटो खुलाउन गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग विपक्षी सांसदहरूले उठाएका हुन्। नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले लेखकले स्वयं पद त्यागेर सत्यतथ्य पत्ता लगाउने प्रक्रिया सहज बनाउनु पर्ने बताएका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले गृह मन्त्रालयको आँखा अगाडि गैरकानुनी गतिविधि सञ्चालन भएको भन्दै मन्त्रीको जवाफदेही माग गरेका छन्। राप्रपाले पनि यो विरोधमा साथ दिएको छ।
तीन प्रमुख विपक्षी दलहरूको सामूहिक दबाबका कारण गृहमन्त्री लेखकले संसदमा आफ्नो धारणा राख्ने मौका समेत पाएनन्। तीव्र अवरोधपछि संसद बैठकलाई आधा घण्टाका लागि स्थगित गर्नुपरेको छ।