टोकियो – जापानको एक प्रमुख ट्युसन कम्पनीले आफ्नो अनलाइन अध्ययन सामग्रीमा मिनामाता (Minamata Disease) रोगलाई वंशाणुगत भनी गलत वर्णन गरेकामा माफी मागेको छ । उक्त भ्रामक विवरणले जनस्तरमा चर्को आलोचना खेपेको थियो ।
कम्पनीको ‘ट्राइ आइटी’ नामक अनलाइन सेवा अन्तर्गत निम्न माध्यमिक तहका विद्यार्थीहरूका लागि तयार पारिएको भिडियो पाठमा उक्त गलत दाबी गरिएको थियो । पाठमा सालनाल मार्फत पारोको सम्पर्कमा आएर शिशुहरूमा यो रोग विकसित हुनेबारे व्याख्या गरिए पनि उक्त अवस्थालाई त्रुटिवश ‘वंशाणुगत’ भनिएको थियो ।
राष्ट्रव्यापी रूपमा होम ट्युसन सेवा ‘ट्राइ’ सञ्चालन गर्दै आएको ट्राइग्रुप इंकले आइतबार आफ्नो वेबसाइटमार्फत जारी विज्ञप्तिमा भनेको छ, ‘हामी गलत शब्दावलीका लागि क्षमाप्रार्थी छौं र यसलाई सच्याइसकेका छौं ।’ उक्त पाठको भिडियोलाई पनि तत्काल अफलाइन गरिएको (हटाइएको) विज्ञप्तिमा उल्लेख छ ।
यो गलत सूचना सार्वजनिक भएपछि मिनामाता रोगका पीडित तथा रोगीहरूको समूह र वातावरण मन्त्रालयले समेत कम्पनीलाई उक्त सामग्री सच्याउन आग्रह गरेका थिए । मिनामाता रोग पारो विषाक्तताका कारण हुने एक स्नायु प्रणालीसम्बन्धी विकार हो । यसले दक्षिणपश्चिमी मुख्य टापु क्युसुस्थित कुमामोतो प्रिफेक्चरको मिनामाता खाडी वरपरका क्षेत्रहरूमा पारोद्वारा दूषित समुद्री खाना अनजानमा खाएका हजारौं मानिसहरूलाई प्रभावित पारेको थियो ।
सन् १९६८ मा जापानी सरकारले स्थानीय रासायनिक कारखानाबाट निस्किएको फोहोर पानीमा भएको पारो नै उक्त रोगका लागि जिम्मेवार रहेको आधिकारिक रूपमा स्वीकार गरेको थियो ।