टोकियो – जापानको प्रमुख खरबुजा उत्पादक क्षेत्र इबाराकी प्रिफेक्चरमा यस महिना खरबुजा चोरीका श्रृंखलाबद्ध घटनाहरू भएका छन् । वर्षभरिको मिहिनेत चोरीले नष्ट पारिदिएपछि स्थानीय किसानहरूलाई चिन्तित बनाएको छ ।
प्रहरीका अनुसार, इबाराकी शहरमा मे ९ तारिखमा एउटा ग्रीनहाउसबाट करिब २०० वटा एन्डेस जातका खरबुजा चोरी भएका थिए । पीडित किसानले ती खरबुजा फसल काट्ने बेला हुन लागेका र तिनको मूल्य करिब १ लाख ६० हजार येन बराबरको रहेको बताएका छन् । त्यसको पाँच दिनअघि होकोटा शहरको एक फार्मबाट ३० वटा खरबुजा चोरी भएका थिए ।
प्रहरीले अन्य स्थानमा पनि चोरीका घटनाहरू रिपोर्ट भएको र उत्पादकहरूलाई गस्ती बढाउने, सुरक्षा क्यामेरा तथा सेन्सर लाइट जडान गर्ने जस्ता उपायहरू अपनाएर सतर्कता बढाउन आह्वान गरेको छ । तीन वर्षअघि आफ्ना उच्च गुणस्तरका खरबुजा चोरी भएका इबाराकी शहरका किसान हिरोयुकी इवासाकीले फसल कटानीको सिजनलाई लक्षित गरी निरन्तर भइरहेका चोरीका घटनाप्रति आक्रोश व्यक्त गरेका छन् ।
‘किसानहरूले आराम गर्ने समय नपाएर कडा मिहिनेत गर्छन् । फसल काट्नु ठीक अघि हाम्रो उत्पादन चोरी हुनु पीडादायी र रिस उठ्दो कुरा हो,’ उनले भने । चोरीका घटनाले किसानहरूमा आर्थिक नोक्सानीका साथै मानसिक तनाव पनि बढाएको छ ।