काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएको बलात्कार प्रकरणकी ‘पीडित’ भनिएकी रोशनी शाही भक्तपुरमा मृत अवस्थामा फेला परेकी छिन् । भक्तपुरको सूर्यविनायक नगरपालिका-३, बालकोटस्थित एक घरको डेरा कोठामा आइतबार दिउँसो उनी मृत भेटिएकी हुन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) माधव बुढाथोकीका अनुसार, ५० वर्षीया शाही दिउँसो १ बजेर ५० मिनेटमा कोठाभित्र मृत अवस्थामा फेला परेको सूचना प्रहरीले पाएको थियो । शाही बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरी बस्दै आएकी थिइन् । प्रहरीका अनुसार, कोठा भित्रबाट चुकुल लगाएको अवस्थामा उनको शव भेटिएको हो ।
घटनाको प्रकृतिबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । शाहीको स्थायी घर जाजरकोट रहेको प्रहरीले जनाएको छ । स्मरणरहोस्, शाहीले पूर्वसभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयासको आरोप लगाएकी थिइन् ।
यद्यपि, उक्त मुद्दामा महराले पछि अदालतबाट सफाइ पाएका थिए । यस घटनाले शाही पुनः चर्चामा आएकी थिइन् । प्रहरीले उनको मृत्युको कारणबारे विस्तृत अनुसन्धान अघि बढाएको छ ।