समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रवक्ता तथा वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरसँग स्पष्टिकरण मागेका छन्। आइतबार पत्रमार्फत पठाइएको सो स्पष्टिकरणको जानकारी स्वयं मानन्धरले दिएका हुन्।
मानन्धरका अनुसार, आफूले उठाउँदै आएका आवाज र आलोचनाप्रति मेयरले असहमति जनाउँदै स्पष्टिकरण मागिएको बुझिएको छ। यद्यपि, स्पष्ट रूपमा कुन विषयमा स्पष्टिकरण मागिएको हो भन्ने खुलाइएको छैन। “मैले अहिले उठाइरहेको विषयहरूप्रति उहाँलाई आपत्ति छ जस्तो लाग्छ, तर औपचारिक पत्र अझै मेरो हातमा पुगेको छैन,” उनले भने। मेयर शाहले पाँच महिनादेखि कार्यपालिका बैठक नबोलाएको भन्दै चैत १० गते प्रवक्ता मानन्धर सहित नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले सामूहिक रूपमा ज्ञापनपत्र बुझाएका थिए।
यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको कार्यालय प्रवेश प्रक्रियामा मानन्धरले नेतृत्वदायी भूमिका खेलेका थिए। हाल महानगरभित्र निर्णय प्रक्रियामा मेयरको एकल निर्णयप्रति असहमति जनाउने वडाध्यक्षहरूको संख्या बढ्दो छ।