टोकियो – जापानका सुपरमार्केट सञ्चालकहरूले बढ्दो मूल्य र देशको मुख्य खाद्य बाली चामलको सम्भावित अभावबाट चिन्तित उपभोक्ताहरूलाई अर्को विकल्प प्रदान गर्दै सस्तो मूल्यको विदेशी चामलको बिक्रीलाई प्राथमिकता दिन थालेका छन् ।
अग्रणी रिटेल चेन आयोन कम्पनीले आगामी जुन ६ देखि आफ्ना स्टोरहरू, विशेषगरी सहरी क्षेत्रहरूमा, क्यालिफोर्नियामा उत्पादित चामल प्रति ४ किलोग्राम २ हजार ८ सय ९४ येन ($२०) मा बिक्री सुरु गर्ने भएको छ । यसलाई जापानी बजारमा प्रचलित ५ किलोग्रामको इकाईमा रूपान्तरण गर्दा ३ हजार ६ सय १८ येन पर्न आउँछ, जुन मे महिनाको सुरुमा कृषि मन्त्रालयले गणना गरेको राष्ट्रव्यापी सुपरमार्केटहरूमा जापानी चामलको औसत मूल्यभन्दा करिब १५ प्रतिशत सस्तो हो ।
आयोनले यसअघि अप्रिल महिनामा अमेरिकी र स्वदेशी चामल मिश्रित ब्लेन्ड पनि बजारमा ल्याइसकेको छ । जापानले विश्व व्यापार संगठन (WTO) को व्यवस्थाअन्तर्गत अन्य देशहरूबाट निश्चित परिमाणमा खरिद गर्न बाध्य सरकारी माध्यमबाट वा निजी कम्पनीहरू (जसले सरकारलाई शुल्क तिर्छन्) मार्फत चामल आयात गर्दछ । आयोनले निजी आयात मार्फत चामल प्राप्त गरी तीन महिनाको अवधिमा करिब १४,००० टन बिक्री गर्ने योजना बनाएको छ ।
मे ५ देखि मे ११ सम्म जापानी सुपरमार्केटहरूमा बिक्री भएको चामलको औसत मूल्य प्रति ५ किलोग्राम ४,२६८ येनको कीर्तिमानी स्तरमा पुगेको थियो । यो अप्रिलको अन्त्यदेखि मे महिनाको सुरुसम्मको ४,२१४ येनभन्दा बढी हो, जब १८ हप्तामा पहिलो पटक मूल्य घटेको थियो । सन् २०२३ को गर्मीयाममा भएको कमजोर बालीका कारण यो मूल्य गत वर्षको तुलनामा करिब दोब्बरले बढी छ ।