काठमाडौं – गृहमन्त्री रमेश लेखकले पछिल्ला दिनमा आफूमाथि भिजिट भिसा प्रकरणमा लागेका आरोपहरूका सम्बन्धमा केही दिनभित्रै विस्तृत रूपमा बोल्ने बताएका छन् । शनिबार धनुषा जिल्लास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
गृहमन्त्री लेखकले पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा भिजिट भिसासँग जोडेर आफ्नोबारेमा विभिन्न टिकाटिप्पणी भइरहेको स्वीकार गरेका छन् । ‘म दुईरतीन दिन किन चुप लागेर बसेँ भने, यो कहाँबाट, कसरी र किन भइरहेछ भनेर खोजी गरिरहेको थिएँ,’ उनले भने, ‘यस विषयमा मैले धेरै कुरा थाहा पाइसकेको छु ।’
उनले अगाडि भने, ‘आजै काठमाडौं पुगेपछि मेरो मन्त्रालयले (गृह मन्त्रालयले) आधिकारिक विज्ञप्ति जारी गर्नेछ र दुईरचार दिनमा म आफैँ पनि केही कुराहरू सार्वजनिक गर्नेछु । त्यसपछि देशभरका साथीहरूलाई सबै कुरा प्रस्ट हुनेछ । त्यसैले यसतर्फ अहिले धेरै बोल्दिनँ ।’
उनले यस विषयमा पार्टीका नेता(कार्यकर्ताहरूलाई कुनै पनि किसिमको चिन्ता नलिन आग्रह गरे । आफ्नो राजनीतिक निष्ठामाथि आँच आउने कुनै काम नगर्ने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्री लेखकले भने, ‘म एउटै कुरा के भन्छु भने, जीवनभरि राजनीति गर्दा पार्टीका साथीहरूको मन सानो हुने, टाउको निहुरिने काम कहिल्यै गर्दिनँ । जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ, त्यो दिनदेखि म राजनीतिमा देखा पर्नेछैन ।’