काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त‘ले माओवादी केन्द्र सत्ताको अंकगणितको खेलमा नभइ आगामी प्रतिनिधिसभा निर्वाचनतर्फ केन्द्रित रहेको दाबी गरेका छन् ।
शुक्रबार पाल्पाको रम्भा र पूर्वखोला गाउँपालिकामा आयोजित मगर राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त भेलालाई सम्बोधन गर्दै पुनले माओवादीले २०८४ सालको निर्वाचनलाई लक्ष्य बनाएर जनतासँग पुनः सम्पर्क विस्तार गरिरहेको बताए । ‘हामी सत्ताको गणीतय खेलमा छैनौँ, ०८४ पर्खेर बस्छौँ,’ पुनले भने, ‘सरकारमा हुँदा गरेका कामबारे जनतालाई बुझाउँछौँ । गर्न नसकेका र गल्ती भएका कुरामा क्षमा माग्छौँ । गल्ती सुधार गरेर जनतातिर फर्कन चाहन्छौँ ।’
उपन्यायाधीशदेखि राजदूतसम्म बनिसकेका र निजी शैक्षिक संस्थाबाट शिक्षा लिएका धनी तथा प्रभावशाली वर्गले समावेशीताको नाममा दोहोर्याएर सुविधा लिने प्रवृत्तिप्रति पुनले गम्भीर आपत्ति जनाए । ‘प्रधानमन्त्री, मन्त्री, सांसद, राजदूत, सचिव, सहसचिव भइसकेकाहरूले र निजी शैक्षिक संस्थाबाट राम्रो शिक्षा पाएकाहरूले समावेशीतामा अवसर पाउनुहुन्न,’ पुनले भने, ‘गरिब, किसान, ग्रामीण क्षेत्रका जनजाति, दलित, मधेसी, महिला र पिछडिएको समुदायलाई नै प्राथमिकता दिनुपर्छ ।’
पुनले माओवादी जनयुद्धको उपलब्धिबारे स्मरण गर्दै सामन्ती एकात्मक राज्यसत्ताबाट पछाडि पारिएका वर्गलाई मूल धारमा ल्याउन संघर्ष गरिएको बताए । निजामती प्रशासनमा २८ हजार महिलाको प्रवेश, अड्डा-अदालतमा विविध जातजातिका कर्मचारीको उपस्थिति र भाषिक-सांस्कृतिक विविधतालाई राष्ट्रले अंगीकार गर्नु जनयुद्धकै उपलब्धि भएको उनको भनाइ थियो ।