काठमाडौं – वैदेशिक रोजगारीको सिलसिलामा बितेका १० महिनामा १ हजार २ दुई १७ नेपालीले मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को साउन १ गतेदेखि वैशाख मसान्तसम्मको अवधिमा वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरूको मृत्यु भएको हो ।
वैदेशिक रोजगार बोर्डका निर्देशक तथा प्रवक्ता गुरुदत्त सुवेदीका अनुसार, मृत्यु भएका कामदारका शव स्वदेश ल्याउने र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने कार्य अघि बढाइएको छ । बोर्डको तथ्यांकअनुसार, हालसम्मको औसत दर हेर्दा हरेक महिना १२१ भन्दा बढी नेपालीले वैदेशिक रोजगारीकै क्रममा ज्यान गुमाइरहेका छन् । यसको अर्थ, दैनिक चार जना भन्दा बढी नेपाली श्रमिकको मृत्यु भइरहेको छ ।
विदेशमा मृत्यु हुने नेपाली श्रमिकहरू मध्ये अधिकांश युनाइटेड अरब इमिरेट्स (यूएई), साउदी अरब, मलेसिया, कतार, कुवेत, ओमान र बहराइनमा कार्यरत थिए । युएईमा मात्र पछिल्लो १० महिनामा २६१ जना नेपाली श्रमिकको मृत्यु भएको युएईस्थित नेपाली दूतावासले जनाएको छ ।
श्रम गन्तव्य देशहरूमा कार्यस्थलमा हुने दुर्घटना, गर्मीजन्य समस्याहरू, स्वास्थ्य उपचारको अभाव, आत्महत्या र अन्य कारणले नेपाली श्रमिकहरूले अकालमा ज्यान गुमाइरहेका छन् ।
सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने भन्दै विभिन्न नीतिगत सुधारको घोषणा गर्दै आएको छ । तर, पछिल्लो मृत्युदरले कामदारको सुरक्षा, स्वास्थ्य र अधिकारसम्बन्धी व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएको छ ।