समाचार सुन्नुहोस :
काठमाडौँ – भारतले नेपालसँग जोडिएको सीमामा सुरक्षा कर्मीहरूको सङ्ख्या बढाएको छ। पाकिस्तान र बङ्गलादेशी सन्दिग्ध व्यक्तिहरूले नेपालको बाटो हुँदै भारतमा घुसपैठ गर्ने प्रयास गरिरहेको आशंकामा यो कदम चालिएको हो। भारतीय सुरक्षा एजेन्सीहरूका अनुसार, नेपालमा ३७ जना सन्दिग्ध व्यक्तिहरू रहेका छन्, जसले भारतको लखनउ, अयोध्या, मथुरा जस्ता सहरहरूलाई निशाना बनाउन सक्छन्।
सुरक्षा व्यवस्था अन्तर्गत उत्तर प्रदेशको बहराइचदेखि बलरामपुरसम्मको नेपाली सीमामा १,५०० थप एसएसबी कर्मचारी तैनाथ गरिएको छ। सीमा नियन्त्रणका लागि नयाँ चौकी स्थापना गरिएको छ भने सीसीटीभी क्यामेरा मार्फत निगरानी गरिँदैछ। प्रहरी, एसएसबी र स्थानीय सुरक्षा समितिहरूले संयुक्त रूपमा २४ घण्टे गस्ती गरिरहेका छन्। नेपालबाट आउने-जाने सबै व्यक्तिको परिचयपत्र जाँच गरिँदैछ।
यसैबीच, उत्तर प्रदेशको महाराजगन्ज, सिद्धार्थनगर, बलरामपुर लगायतका नेपाल सीमा नजिकैका जिल्लाहरूमा पनि अलर्ट जारी गरिएको छ। भारतीय सुरक्षा अंगहरूले नेपालमा रहेका सन्दिग्ध व्यक्तिहरूको गतिविधिमा कडा नजर राखेका छन्।