टोकियो – समर्थकहरूबाट उपहारस्वरूप चामल प्राप्त हुने भएकाले आफूले ‘कहिल्यै चामल किन्नु नपरेको’ भन्ने विवादास्पद टिप्पणीका कारण उत्पन्न राजनीतिक संकटपछि जापानी कृषि मन्त्री ताकु इतोले बुधबार राजीनामा दिएका छन् । देशको परम्परागत मुख्य खाद्यान्नको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर सर्वसाधारण जनता संघर्ष गरिरहेका बेला उनको राजीनामा आएको हो ।
प्रधानमन्त्री शिगेरु इशिबाले लोकप्रिय पूर्व वातावरण मन्त्री तथा पूर्व प्रधानमन्त्रीका पुत्र शिन्जिरो कोइजुमीलाई कृषि मन्त्रालयको नेतृत्व गर्न नियुक्त गरेका छन् । इशिबाले कोइजुमीको कृषि तथा मत्स्यपालन नीतिसम्बन्धी अनुभव र सुधारप्रतिको उत्साहलाई ध्यानमा राखेर यो जिम्मेवारी दिएको बताए ।
कोइजुमीले पत्रकारहरूलाई बताउनुभएअनुसार प्रधानमन्त्री इशिबाले उपभोक्ताको चिन्तालाई सम्बोधन गर्न चामलको आपूर्ति र मूल्य स्थिर गर्न हरसम्भव प्रयास गर्न निर्देशन दिएका छन् । ‘मलाई अरु सबै कुराभन्दा चामललाई प्राथमिकता दिन भनिएको छ,’ कोइजुमीले भने, ‘यो कठिन समयमा, जनताले दैनिक जीवनमा महसुस गरिरहेको र चिन्तित भएको चामलको उच्च मूल्यको समस्यालाई द्रुत गतिमा समाधान गर्न म सक्दो प्रयास गर्नेछु ।’
उनले आफ्ना छोराछोरीलाई कहिलेकाहीँ तयारी प्याकेटको चामल खुवाउनुपर्दा उपभोक्ताको चिन्ता आफूले पनि महसुस गरेको बताए । धेरै जापानीहरूले आर्थिक यथार्थभन्दा बाहिरको मानेको इतोको टिप्पणी आइतबार सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को एक सेमिनारमा आएको थियो, जसले हाल संघर्षरत अल्पमतको सरकारको नेतृत्व गरिरहेको छ ।
यो गल्तीले जुलाईमा हुने राष्ट्रिय निर्वाचनअघि पार्टीलाई थप समस्यामा पार्न सक्ने देखिन्छ । निर्वाचनमा ठूलो क्षति भएमा नयाँ सरकार बन्न सक्ने वा इशिबाले नै राजीनामा दिनुपर्ने अवस्था आउन सक्छ । ‘उपभोक्ताहरू चामलको आकाशिएको मूल्यबाट पीडित भइरहेको बेला मैले अत्यन्त अनुपयुक्त टिप्पणी गरें,’ प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएपछि इतोले भने ।
गत अक्टोबरमा इशिबाले नेतृत्व सम्हालेपछिको यो पहिलो मन्त्रीस्तरीय राजीनामा हो । सरकारले हालैका महिनाहरूमा आफ्नो आपतकालीन भण्डारबाट हजारौं टन चामल बजारमा पठाएको छ, तर कृषि मन्त्रालयको पछिल्लो तथ्यांकले यस कदमको खासै प्रभाव नदेखिएको जनाएको छ । केही सुपरमार्केटहरूले सस्तो मूल्यमा आयातित चामल बिक्री गर्न थालेका छन् ।
चामलको स्थितिलाई उल्लेख गर्दै इशिबाले चामलको मूल्यवृद्धि ‘अस्थायी नभई संरचनात्मक समस्या’ भएको आशंका व्यक्त गरे । ‘यसको उत्तर पाउन सजिलो नहुन सक्छ,’ उनले भने, । तर उपभोक्ताको कठिनाइ कम गर्न र चामल नीतिमा सुधार गर्न सक्दो प्रयास गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याए ।
कोइजुमीले हालसम्मका उपायहरू प्रभावहीन साबित भएको र बुधबार औपचारिक रूपमा पदभार ग्रहण गरेलगत्तै प्रयासहरूलाई तीव्रता दिने बताए । पछिल्ला दशकहरूमा जापानीहरूको आहारमा विविधता आएकाले चामलको माग घटेको छ, तर चामल अझै पनि मुख्य खाना र जापानी संस्कृति तथा इतिहासको अभिन्न अंग हो । सरकारले हाल चामलको अभाव नरहेको दाबी गरे पनि चामल उपभोक्तासम्म किन पुगिरहेको छैन भन्नेबारे अधिकारीहरू अनभिज्ञ छन् ।