समाचार सुन्नुहोस :
काठमाडौँ – पाकिस्तानको बलुचिस्तान प्रान्तमा बुधबार एक स्कुल बसलाई लक्षित गरेर गराइएको आत्मघाती कार बम विस्फोटमा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ। खुडुजार सहरको बाहिरी क्षेत्रमा सेनाद्वारा सञ्चालित विद्यालयका विद्यार्थी बोकेको बसलाई लक्षित गरी विस्फोट गराइएको थियो। स्थानीय अधिकारीका अनुसार, विस्फोटपछि सुरक्षाकर्मीहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए र घाइतेहरूलाई अस्पताल पठाइएको छ। केही बच्चाहरूको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ।
बलुचिस्तानमा विगतदेखि नै स्वतन्त्रताको माग गर्दै विभिन्न सशस्त्र समूहहरू सक्रिय छन्। तीमध्ये ‘बलुचिस्तान लिबरेसन आर्मी’लाई सन् २०१९ मा अमेरिकाले आतंकवादी समूहको सूचीमा राखेको थियो। यद्यपि, हालको आक्रमणको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन।
पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले घटनाको कडा निन्दा गर्दै निर्दोष बालबालिकालाई निशाना बनाउनु अमानवीय र क्रूर कार्य भएको बताएका छन्। पाकिस्तान सेनाले पनि आक्रमणलाई “कायरतापूर्ण” भनेको छ र यसका लागि छिमेकी देश भारतमाथि संलग्नताको आरोप लगाएको छ। सेनाको भनाइमा भारतले बलुचिस्तानमा रहेका आफ्ना सहयोगीमार्फत आक्रमण गराएको बताएको छ।