टोकियो – जापानी प्रधानमन्त्री शिगेरु इशिबाले मंगलबार आफ्ना कृषिमन्त्री ताकु इतोलाई पदबाट नहटाउने स्पष्ट पारेका छन् । चामलको आकाशिँदो मूल्यवृद्धिले आमजनता पिल्सिरहेको अवस्थामा मन्त्री इतोले दिएको असंवेदनशील अभिव्यक्तिका कारण सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरूबाट उनको राजीनामाको माग उठिरहेको छ ।
मन्त्री इतोले एक संसदीय समितिमा बोल्दै आफ्ना समर्थकहरूले प्रशस्त चामल दिने गरेकाले आफूले किन्नु नपरेको भनी दिएको अभिव्यक्तिका लागि ‘लज्जित’ भएको स्वीकार गरेका थिए । यद्यपि, उनले आफ्नो पदमा रही चामलको मूल्य घटाउन आवश्यक कदम चाल्ने इच्छा व्यक्त गरेका छन् । पछिल्लो एक वर्षमा जापानमा चामलको मूल्य झण्डै दोब्बर भएको छ ।
कृषि, वन तथा मत्स्यपालन मन्त्री इतो यस्तो समयमा विवादको केन्द्र बनेका छन्, जब प्रधानमन्त्री इशिबाको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र कोमेइतो पार्टीको सत्तारुढ गठबन्धनले मुद्रास्फीति र बढ्दो अमेरिकी भन्सार महसुलको मार कम गर्ने उपायहरू खोजिरहेको छ । ‘यसै गृष्ममा हाउस अफ काउन्सिलर्सको चुनाव पनि हुँदैछ ।
‘मन्त्री इतोद्वारा व्यक्त टिप्पणीहरू उपभोक्ता र उत्पादक दुवैको दृष्टिकोणबाट असंवेदनशील र अनुपयुक्त थिए, जसका लागि म गहिरो माफी चाहन्छु,’ प्रधानमन्त्री इशिबाले प्रतिनिधि सभाको पूर्ण बैठकमा भने, ‘इतोले कृषि क्षेत्रमा हामीले सामना गरिरहेका असंख्य चुनौतीहरूको सामना गर्न आफ्नो सम्पूर्ण शक्ति लगाउनुपर्छ ।’
विपक्षी खेमाले मन्त्री इतो र उनलाई मन्त्रिपरिषद्मा नियुक्त गर्ने प्रधानमन्त्री इशिबामाथि दबाब बढाएको छ । ‘आम जनताको भावना नबुझ्ने कृषिमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ,’ विपक्षी दल, डेमोक्रेटिक पार्टी फर द पिपुलका महासचिव काजुया शिम्बाले एक फरक संसदीय समिति बैठकमा बताए ।
मन्त्री इतोको विवादास्पद टिप्पणी आइतबार सागा प्रिफेक्चरमा एलडीपीको स्थानीय च्याप्टरले आयोजना गरेको एक कोष वृद्धि कार्यक्रममा आएको थियो । ‘मैले चामल किन्नु पर्दैन । मेरा समर्थकहरूले प्रशस्त दिएकाले मेरो घरमा यति धेरै चामल छ कि म त्यसलाई बेच्न सक्छु,’ उनले भनेका थिए ।
यो टिप्पणीले भोलिपल्टदेखि नै ठूलो विवाद सिर्जना गरेको थियो । प्रधानमन्त्री इशिबाबाट सचेत गराइएपछि इतोले सोमबार आफ्नो भनाइ फिर्ता लिएका थिए । मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रीले सामाजिक सञ्जाल र समाचार माध्यमबाट जनताको प्रतिक्रिया हेरेको बताए । ‘मानिसहरू कति क्रुद्ध थिए भन्ने महसुस गरेको,’ उनले भने ।