समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुराराईंले उनलाई स्पष्टीकरण सोधेका हुन्। पाण्डेले आफूलाई स्पष्टीकरण आएको स्वीकारे पनि यसबारेमा प्रतिक्रिया दिन चाहेनन्। पाण्डेले भने, “यस बारेमा म कुनै टिप्पणी गर्दिनँ। बाँकी कुरा तपाईंले आफैँ बुझ्नुहोस्।”
गुरागाईँले पाण्डेलाई सात बुँदे प्रष्टीकरण माग्दै पत्र जारी गरेका हुन्। स्रोतका अनुसार, यसमा पाण्डेले कर्मचारी आचारसंहिता पालना नगरेको, मिडियामा अनधिकृत बयान दिएको, जनप्रतिनिधिहरूसँग अशिष्ट व्यवहार गरेको, शान्ति व्यवस्था कायम गर्न दिइएको आदेश उल्लंघन गरी तनाव बढाएको आरोप समावेश छ।
यसैगरी, गुरागाईँले कार्यालय प्रवेश गर्दा उनलाई बाटो रोकी अवरोध पुर्याएको आरोप पनि लगाइएको छ। पाण्डेले सात दिनभित्र आधिकारिक जवाफ पेश गर्नुपर्ने र यदि जवाफ नचित्त बुझिए वा नआएमा कानूनी कारबाही हुने पत्रमा उल्लेख छ।