टोकियो – मध्य जापानको एक एक्सप्रेसवेमा गलत दिशामा गाडी चलाएर विभिन्न सवारी साधनसँग ठोक्काएको आरोपमा एक पेरुभियाली नागरिकलाई पक्राउ गरिएको छ । सिगा प्रिफेक्चरको नागाहमा निवासी ३४ वर्षीय ती व्यक्तिलाई सोमबार पक्राउ गरिएको हो ।
प्रहरीले उनीमाथि आइतबार बिहान करिब ११ बजे मिए प्रिफेक्चरको कामेयामास्थित शिन-मेइशिन एक्सप्रेसवेमा दुईवटा सवारी साधनलाई ठक्कर दिएपछि दुर्घटनाको जानकारी नगराएको अभियोग लगाएको छ । प्रहरीका अनुसार, उनले एउटा मात्र सवारी साधनसँग ठोक्किएको स्वीकार गरेका छन् ।
विपरीत दिशाबाट आइरहेको उनको कारलाई छल्न खोज्दा एउटा गाडी रोकिएपछि ठूलो ट्रकसहित चारवटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ४० देखि ६० वर्ष उमेर समूहका चार महिलालाई सामान्य चोटपटक लागेको छ ।
प्रहरीले ती व्यक्तिले एक्सप्रेसवेमा अवैध रूपमा यू-टर्न लिएको हुन सक्ने आशंका गरेको छ । दुर्घटनापछि पनि उनी करिब १० किलोमिटरसम्म गलत दिशामै गाडी चलाएर सुजुका रोडसाइड पार्किङ क्षेत्रमा पुगेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।