टोकियो — जापानमा कर्मचारी अभावका कारण कार्यक्षमता वृद्धि गर्ने आशासहित लगभग ३० प्रतिशत स्थानीय सरकारका कार्यालयहरूले जेनेरेटिभ एआई कार्यस्थलमा प्रयोग गर्न थालेको एक सरकारी सर्वेक्षणले देखाएको छ ।
जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार, जेनेरेटिभ एआईको प्रयोग गरिरहेका, योजना बनाइरहेका वा गम्भीरताका साथ विचार गरिरहेका स्थानीय सरकारहरूको संख्या ५०.८ प्रतिशत पुगेको छ जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशत बढी हो ।
१,७२१ नगरपालिकाहरूमध्ये २८.८ प्रतिशतले जेनेरेटिभ एआईको प्रयोग गरिसकेको जनाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १९.४ प्रतिशतले वृद्धि हो । मुख्य रूपमा भाषणको मस्यौदा तयार पार्ने र बैठकको सारांश तयार गर्न उल्लेखनीय प्रयोग भइरहेको छ । एकभन्दा बढी उत्तर दिन मिल्ने भएकाले विभिन्न कार्यहरूमा प्रयोग भएको पाइएको छ । तर, २१.५ प्रतिशत नगरपालिका कार्यालयहरूले भने कार्यस्थलमा एआई प्रयोग गर्ने कुनै योजना नरहेको जनाएका छन् ।
झण्डै १,००० स्थानीय सरकारहरू (योजना बनाइरहेका वा विचार गरिरहेका समेत) ले अझै पनि एआई प्रयोगसम्बन्धी स्पष्ट मार्गदर्शन तय गर्न बाँकी भएकाले, विशेषज्ञहरूले पूर्वाग्रही नतिजा र प्रशासनिक कार्यशैलीमा नकारात्मक असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । यसैबीच, मन्त्रालयले स्थानीय सरकारहरूमा एआई प्रयोगको वर्तमान अवस्था र देखिएका चुनौतीहरूबारे अध्ययन गरी यसै गर्मी याममा विस्तृत प्रतिवेदन सार्वजनिक गर्ने योजना बनाएको छ।