टोकियो – जापानका प्रधानमन्त्री शिगेरु इशिबाको क्याबिनेटको समर्थन दर घटेर अहिलेसम्मकै न्यून स्तर २७.४ प्रतिशतमा पुगेको छ । जुन अघिल्लो महिनाको तुलनामा ५.२ अंकले घटेको क्योदो न्यूजले आइतबार सार्वजनिक गरेको एक सर्वेक्षणमा देखाएको छ ।
समर्थन दरमा आएको गिरावट यो गर्मीको हाउस अफ काउन्सिलर्स (उपल्लो सदन) निर्वाचनलाई दृष्टिगत गरी उपभोक्ताहरूमा बढेको असन्तुष्टिको सन्दर्भमा आएको हो । इशिबाले मूल्यवृद्धिको सामना गर्न उपभोग कर कटौतीको प्रस्तावलाई निरन्तर अस्वीकार गरिरहेका छन् ।
उनको क्याबिनेटको समर्थन दर ३० प्रतिशतभन्दा तल झरेको छ जुन ‘जोखिम क्षेत्र’ मानिन्छ जसको कारण कुनै पनि बखत सरकार ढल्ने सम्भावना उच्च हुन्छ । नागरिकहरू चामलको मूल्य आकाशिएको स्थितिमा सरकारले प्रभावकारी समाधान ल्याउन नसकेको भन्दै असन्तुष्ट देखिएका छन् ।
गत अक्टोबरमा पदभार सम्हालेका इशिबाको क्याबिनेटको अस्वीकृति दर १.३ अंकले बढेर ५५.१ प्रतिशतमा पुगेको छ । सर्वेक्षणमा सहभागीमध्ये ७३.२ प्रतिशतले उपभोग कर ‘केवल खाद्यान्नमा’, ‘सबै वस्तुमा’ वा पूर्ण रूपमा खारेज हुन आवश्यक रहेको बताएका छन् । दुई दिनसम्म सञ्चालित उक्त सर्वेक्षणमा सहभागी ८७.१ प्रतिशतले चामलको मूल्य वृद्धिलाई नियन्त्रण गर्न सरकारले गरेको प्रयास अपर्याप्त भएको बताएका छन्।
सर्वेक्षणमा उपभोग कर खारेज वा घटाइएमा सामाजिक सुरक्षा सेवाहरूमा गिरावट आउने कुरामा उनीहरू चिन्तित छन् कि छैनन् भन्ने प्रश्नमा ७२.९ प्रतिशतले छ भनेका छन् । जापान-अमेरिका व्यापार शुल्क वार्ताबारे सोधिएकोमा ७४.३ प्रतिशतले सकारात्मक परिणामको अपेक्षा नरहेको बताएका छन् ।
माथिल्लो सदन निर्वाचनको सन्दर्भमा २०.२ प्रतिशतले सत्तारूढ लिबरल डेमोक्रयाटिक पार्टी (LDP) लाई मत दिने बताएका छन् भने १४.२ प्रतिशतले प्रमुख विपक्षी कन्ष्टिच्युसनल डेमोक्रेटिक पार्टी अफ जापान (CDPJ) लाई समर्थन जनाएका छन् । १२.४ प्रतिशतले डेमोक्रेटिक पार्टी फर द पिपुल (DPP), ६.० प्रतिशतले जापान इनोभेसन पार्टी, र ५.९ प्रतिशतले विरोधी दल रैवा शिनसेङगुमिलाई मत दिने बताएका छन् ।
जब कुन दललाई समर्थन गर्छन् भनेर सोध्दा २५.० प्रतिशतले LDP, १२.१ प्रतिशतले CDPJ, १३.२ प्रतिशतले DPP र ४.९ प्रतिशतले इनोभेसन पार्टीलाई समर्थन गर्ने बताएका छन्, भने २१.२ प्रतिशतले आफूले समर्थन गर्ने कुनै पार्टी नभएको बताएका छन् । सर्वेक्षणमा ४९७ वटा घरधुरी र ३,७२५ मोबाइल नम्बरहरूमा सम्पर्क गरिएको थियो । तीमध्ये ४२६ जना घरधुरी सदस्य र ६३८ जना मोबाइल प्रयोगकर्ताबाट उत्तर प्राप्त भएको थियो ।