समाचार सुन्नुहोस :
काठमाडौँ – सङ्घीय संसद्का दुबै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभा बिहान ११ बजे र राष्ट्रियसभा अपराह्न १ः१५ मा बस्ने कार्यक्रम तय गरिएको छ। प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची रहेको छ।
यसका साथै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जलस्रोत विधेयक, २०८१’ पारित गरियोस् भन्ने प्रस्ताव संसद् समक्ष प्रस्तुत गर्ने सम्भावना छ। उक्त विधेयकमाथि पूर्वाधार विकास समितिको प्रतिवेदनसहित छलफल गरिनेछ। राष्ट्रियसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र क्षेत्रसँग सम्बन्धित ‘चलचित्र विधेयक, २०८१’ पेश गर्ने कार्यक्रम छ। सरकारले यस विधेयकमार्फत नेपाली चलचित्र उद्योगलाई थप मर्यादित, व्यवस्थित र व्यावसायिक बनाउन खोजेको जनाएको छ।
त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव अघि बढाउने तयारी छ। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको उत्तरसमेत प्रस्तुत गरिनेछ।