टोकियो – जापान सरकारले उपभोक्ताहरूलाई चाँडै सस्तो चामलको लाभ दिलाउन तथा वितरण प्रक्रियालाई तीव्र बनाउने उद्देश्यले खुद्रा विक्रेताहरू (जसमा सुपरमार्केटहरू प्रमुख छन्)का लागि संचित चामलको विशेष कोटा छुट्याउने घोषणा गरेको छ ।
सरकारले जुलाई महिनासम्म तीन महिनाको अवधिमा वितरण गर्न लागेको ३ लाख टन संचित चामलमध्ये ६० प्रतिशत हिस्सा खुद्रा विक्रेताहरूलाई उपलब्ध गराउनेछ । यस निर्णयमार्फत मूल्यमा आएको गिरावटको प्रत्यक्ष लाभ उपभोक्ताले बजारमै अनुभव गर्न सक्ने अपेक्षा गरिएको छ ।
वितरकहरूको सहभागिता बढाउन सरकारले चामल पुनःकिन्ने समयसीमा एक वर्षबाट पाँच वर्षसम्म लम्ब्याउने व्यवस्था गरेको छ। यसले चामलको वितरण प्रक्रियामा थप लचिलोपन ल्याउने विश्वास गरिएको छ ।
यसअघि सरकारले मार्चदेखि अप्रिलसम्म तीन चरणमा ३ लाख १२ हजार टन चामलको बोलकबोल गरिसकेको छ । अब जुलाईसम्म थप ३ लाख टन वितरण गर्ने योजना अनुसार कुल ६ लाख १२ हजार टन चामल बजारमा ल्याइनेछ, जुन वार्षिक आन्तरिक मागको करिब ९ प्रतिशत बराबर हो ।
वितरक संस्थाहरू, विशेषगरी जापानी कृषि सहकारी महासंघलाई खुद्रा विक्रेतासँग समन्वय गरेर चामल एक महिनाभित्रै पसलहरूमा पुर्याउन निर्देशन दिइएको छ । यस व्यवस्थाले संचित चामललाई होटेल, रेष्टुराँ वा अन्य खाद्य सेवा व्यवसायमा मोडिने सम्भावना प्रभावकारी रूपमा रोक्नेछ ।