काठमाडौं – देशको राष्ट्रिय राजनीतिमा फेरि एकपटक सत्ताको शक्ति-सन्तुलन हल्लिने संकेत देखिन थालेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन संवाद गर्दै सत्ता समीकरणमा पुनः समायोजनको संकेत गरेका छन् ।
शुक्रबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा सहभागी भएका प्रचण्डले देउवासँग टेलिफोन संवाद भएको खुलासा गर्दै, ‘म डडेल्धुरामा छु भनेर उहाँलाई भनेँ, उहाँले पनि मेरो जिल्लामा स्वागत भन्नुभयो’, भनी सामान्य रूपमा उल्लेख गरे पनि यस संवादले राजनीतिक वृत्तमा गहिरो चर्चा जन्माएको छ । वर्तमान सत्तागठबन्धनभित्र विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेबीचको चिसोपन र अविश्वासका बीच भएको यो संवादलाई राजनीतिक दृष्टिले अत्यन्तै संवेदनशील मानिएको छ ।
यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि २०७९ मंसिर १५ गते ‘मेची-महाकाली राष्ट्रिय अभियान’को क्रममा डडेल्धुराबाट देउवालाई फोन गरेर संवाद गरेका थिए । त्यस संवादलाई नै तत्कालीन राजनीतिक समीकरण निर्माणको थालनीको रूपमा लिइएको थियो, जसको परिणामस्वरूप एमाले-कांग्रेसबीच नयाँ सत्ता गठबन्धन बनेको थियो ।
ठीक त्यसको सात महिनापछि, फेरि एकपटक शुक्रबारकै दिन, डडेल्धुराबाटै अर्को प्रमुख प्रतिपक्षी नेता प्रचण्डको देउवालाई गरिएको फोनलाई संयोगमात्र भन्न सकिँदैन । राजनीतिक विश्लेषकहरूका अनुसार, यो फोन संवादले फेरि सत्ताको चक्र घुमाउन सक्ने सम्भावनाको संकेत गरेको छ ।
वर्तमान सत्तारूढ गठबन्धनका दुई प्रमुख घटक नेपाली कांग्रेस र नेकपा एमालेबीचको सम्बन्ध पछिल्लो समय निकै तिक्त बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति कांग्रेसभित्र गहिरो असन्तुष्टि देखिएको छ । कांग्रेसका प्रभावशाली नेताहरू समेत वर्तमान सरकार दीर्घकालीन रूपमा टिक्न नहुने निष्कर्षमा पुगिरहेका छन् । प्रधानमन्त्री ओलीप्रति पार्टीभित्रै व्यापक आलोचना भइरहँदा, कांग्रेसभित्र नेतृत्व परिवर्तन वा सत्ता गठबन्धन पुनः समायोजनको चर्चा पनि बढ्दो छ । माओवादी केन्द्रका नेताहरू समेत वर्तमान गठबन्धन आफ्नै भारले ढल्ने तर्क गरिरहेका छन् ।
यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगातार सत्ता पुनः संरचनाको प्रयासमा सक्रिय देखिन्छन्। कांग्रेस, माओवादी केन्द्र र अन्य विपक्षी दलबीच भइरहेको आन्तरिक संवाद र कूटनीतिक अभ्यासले नयाँ समीकरणको ढोका खोल्ने संकेत गरिरहेको छ । प्रचण्डले डडेल्धुराबाट देउवालाई फोन गर्नु केवल औपचारिकताका लागि मात्र होइन, रणनीतिक रूपमै गरिएको कदमको रूपमा हेरिन थालेको छ । ओलीले गरेको अघिल्लो ‘फोन कूटनीति’ पछि गठबन्धन निर्माण भएको ऐतिहासिक सन्दर्भले प्रचण्डको यो कदमलाई सामान्य संयोगका रूपमा नलिइ नयाँ सन्देशको रूपमा ग्रहण गरिएको छ ।
वर्तमान अवस्थामा प्रचण्ड प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा छन्, जस्तै ओली पनि उक्त संवादका बेला थिए । दुवै नेताले देउवाकै गृहजिल्ला डडेल्धुराबाट फोन सम्पर्क गरेका छन् । राजनीतिक दृष्टिले यी संयोगहरू भविष्यको संभावित गठबन्धनको संकेतका रूपमा देखिएका छन् । यद्यपि, हालसम्म प्रचण्ड-देउवा संवादको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन । तर, यो संवादले माओवादी केन्द्र र कांग्रेसबीच निकटता बढेको स्पष्ट संकेत दिएको छ ।
प्रचण्डको पछिल्लो कूटनीतिक सक्रियता र कांग्रेसभित्रको गहिरिँदो असन्तुष्टि सँगै वर्तमान सत्तासमीकरणमा फेरबदलको संभावना झनै बलियो बनेको छ । माओवादी केन्द्रले पछिल्ला केही महिनायता सत्ता समीकरण पुनः लेख्न पटक-पटक संकेत दिँदै आएको छ । यस पटकको ‘फोन कूटनीति’ त्यसैको निरन्तरता त होइन? राजनीतिक वृत्त र आम चासोको केन्द्रमा यही प्रश्न उभिएको छ ।