काठमाडौं – देशका विभिन्न भूभागमा शुक्रबार साँझ आएको भीषण हावाहुरीले जनधनमा ठूलो क्षति पुर्याएको छ । नवलपरासी, कैलाली, बारा, सर्लाही, चितवन, उदयपुर, कञ्चनपुर र सिराहा लगायतका जिल्लाहरूमा परेको प्रचण्ड हावाहुरीका कारण तीन जनाको ज्यान गएको छ भने कम्तीमा सात जना घाइते भएका छन् ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ मा हावाहुरीले रुख ढाल्दा ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए । पानीसँगै आएको हावाहुरीबाट बच्न सडक किनारको प्रतिक्षालयमा शरण लिएका उनीहरू रुख भाँचिएर बज्रिँदा ज्यान गुमाउन पुगेका हुन् । सो घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
यसैबीच कैलालीमा पनि हावाहुरीले रुख ढल्दा राष्ट्रिय कलेज सुखडका पूर्वक्याम्पस प्रमुख कर्ण भण्डारीको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनाको समयमा उनी सडकमा हिँडिरहेको बेला रुख खसेर दुर्घटना भएको हो ।
यसैगरी बाराको कोल्हवी-३ मा हावाहुरीले ढालेको रुख सडकमा गुडिरहेको अटोमाथि खस्दा स्थानीय सिकेन्द्र चौधरी घाइते भएका छन् । सर्लाहीमा पनि हावाहुरीले सयौं घरका छाना उडाएको छ भने आँप, लिची लगायतका मौसमी फलफूल तथा बालीमा व्यापक क्षति पुर्याएको छ ।