काठमाडौं – मर्निङ वाकका लागि घरबाट निस्किएकी दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ । कपिलवस्तुस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत पत्थरकोट-गोरुसिङ्गे सडकखण्डमा शुक्रबार बिहान पौने ६ बजे कारले ठक्कर दिँदा उनीहरूको घटनास्थल नजिकै मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका बुद्धभूमि नगरपालिका-१ बसन्तपुर निवासी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीको उपचारका क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए । दुर्घटना अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गरेको बीएबी ९५९९ नम्बरको कारले ठक्कर दिँदा भएको हो ।
घाइते दुबै जनालाई तत्काल जिल्ला अस्पताल, तौलिहवा लगिँदै थियो तर उपचार सुरु हुनुअघि नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि कार चालक सैनामैना नगरपालिका-५, रुपन्देहीका ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।