समाचार सुन्नुहोस :
काठमाडौँ – दुई हजार ५६९ औँ बुद्धजयन्तीको अवसरमा काभ्रेपलाञ्चोकको पनौतीदेखि नमोबुद्ध स्तूपासम्म शान्ति पदयात्रा सम्पन्न गरिएको छ। ‘काभ्रेपलान्चोकका लागि केही गरौँ’ भन्ने नारासहित काभ्रे सेवा समाजले आयोजना गरेको पदयात्राको उद्घाटन पूर्वराष्ट्रपति डा. रामवरण यादवले गरे। उनले पनौतीलाई शाक्यमुनि बुद्धको अवतार राजकुमार महासत्त्वको जन्मस्थलका रूपमा विशेष महत्व रहेको बताए।
पदयात्रामा स्थानीय सरकार, संघसंस्था तथा नागरिकहरूको सक्रिय सहभागिता रह्यो। पनौती नगरप्रमुख रामशरण भण्डारीले पनौतीलाई बुद्धभूमिका रूपमा विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास भइरहेको जानकारी दिए। पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले यात्राले पनौतीको प्रचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
पत्रकार भीम गौतमले पनौतीदेखि नमोबुद्धसम्मको यात्रा रमणीय र पर्यटन प्रवर्द्धनमा सहायक हुने बताए। काभ्रे सेवा समाजका निवर्तमान अध्यक्ष प्रल्हाद केसीले बुद्धको पूर्वजन्मस्थल पनौती र नमोबुद्धको ऐतिहासिक सम्बन्धलाई उजागर गर्न पदयात्रा गरिएको बताए। पदयात्रामा सयौँ नागरिक सहभागी थिए।