गुन्मा – जापानको गुन्मा प्रिफेक्चरमा पहिलोपटक ऐतिहासिक शान्ति पदयात्रा भव्य रूपमा सम्पन्न भएको छ । २८६९औं बुद्ध जयन्तीको उपलक्ष्यमा नेपाली समुदायले आयोजना गरेको यस पदयात्राले बुद्धको शान्ति, करुणा र अहिंसाको सन्देशलाई जापानी समाजमा सशक्त रूपमा प्रवाह गरेको छ ।
‘बुद्ध नेपालमा जन्मनुभएको हो’ भन्ने ऐतिहासिक तथ्यलाई विश्वसामु उजागर गर्ने उद्देश्यले आयोजना गरिएको शान्ति पदयात्राले जापानस्थित नेपाली समुदायको सांस्कृतिक चेतनशीलता र राष्ट्रिय पहिचानप्रतिको गर्वलाई थप उजागर गरेको छ ।
पदयात्रा गुन्माको ओता स्टेशनबाट सुरु भई निशि कोइजुमी हुँदै इजुमी पार्कसम्म करिब ६ किलोमिटरको दूरीमा सम्पन्न भएको थियो । नेपाली नागरिकहरूले हातमा नेपालको झन्डा, बुद्धका सन्देशयुक्त प्लेकार्ड र ब्यानरसहित सहभागिता जनाए, जसले सम्पूर्ण वातावरणलाई शान्ति र सौहार्दको रंगमा रंगायो ।
कार्यक्रममा एनआरएनए गुन्मा क्षेत्रीय समिति, स्याङ्जा समाज किताकान्तो, नेपाल मगर संघ जापान, तामाङ समाज जापान किता कान्तो, किरात राई यायोक्खा कान्तो जापान, सिन्धुली समाज जापान, शेर्पा संघ किताकान्तो, नेपाली साझा समाज जापानलगायतका थुप्रै संघसंस्थाहरूको उल्लेखनीय सहभागिता तथा सहकार्य रहेको थियो । आयोजकका अनुसार, ‘यो कार्यक्रम केवल सांस्कृतिक गतिविधि मात्र होइन, नेपालको पहिचान अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्ने सशक्त प्रयास हो ।’
आयोजकहरूले सम्पूर्ण सहभागी, स्वयंसेवक, तथा सहायक संस्थाहरूलाई कार्यक्रम सफल बनाउन पुर्याएको योगदानप्रति हार्दिक आभार प्रकट गरेका छन् । पदयात्रा मार्फत नेपाल र बुद्धबीचको ऐतिहासिक सम्बन्ध पुनः एकपटक सशक्त रूपमा विश्वसामु प्रस्तुत गरिएको छ ।