काठमाडौं – चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ९ महिनामा (साउनदेखि चैतसम्म) वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकको पछिल्लो मासिक प्रतिवेदनअनुसार यो परिमाण अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १७.२ प्रतिशतले वृद्धि भएको थियो । अमेरिकी डलरको हिसाबमा हेर्दा यो अवधिमा ७.३ प्रतिशतले वृद्धि भई रेमिट्यान्स ८ अर्ब ७४ करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्ष यो वृद्धि दर १५.२ प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार रेमिट्यान्स वृद्धिको पछाडि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा आएको वृद्धिको समेत योगदान रहेको छ । साउनदेखि चैतसम्मको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत गरी) लिने नेपालीको संख्या ३ लाख ५८ हजार २ सय २२ पुगेको छ । त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६ सय ५२ रहेको छ ।
गत वर्षको यही अवधिमा नयाँ श्रम स्वीकृति लिने संख्या ३ लाख २७ हजार ८ सय ४२ र पुनः स्वीकृति लिने २ लाख ११ हजार २ सय २६ थियो ।