काठमाडौं – नवलपुरको कावासोती नगरपालिका-११ लोकाहा निवासी एकै परिवारका दुई दाजुभाइको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । शनिबार साँझ रिठेपानी सडक खण्डमा भएको उक्त दुर्घटनामा २४ वर्षीय ईश्वर दर्लामी र उनका २२ वर्षीय भाई सागर दर्लामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरीका अनुसार लु १३ प ७०२ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुवै जना मुण्डेबाट लोकाहातर्फ जाँदै थिए । सोही क्रममा चालकले मोटरसाइकलको नियन्त्रण गुमाउँदा सडक किनारमा रहेको कल्पटमा ठोक्किएर गम्भीर दुर्घटना भएको हो ।
दुर्घटनापछि गम्भीर घाइते भएका दुवै जनालाई तत्कालै उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकहरूले उपचार अघि नै उनीहरूलाई मृत घोषणा गरेका थिए । प्रहरी निरीक्षक सुदीप पौडेलका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।