काठमाडौं – आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गरिँदैछ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा राष्ट्रपतिको सम्वोधनमार्फत प्रस्तुत नीति तथा कार्यक्रममाथि निर्णय लिने प्रक्रिया अघि बढाइनेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संसद्को परम्पराअनुसार उक्त नीति तथा कार्यक्रमलाई आजको बैठकमार्फत अनुमोदन गरिने तयारी गरिएको हो ।
यसलाई मध्यनजर गर्दै सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई अनिवार्य रूपमा बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरू बैठकमा उपस्थित भइ मतदान प्रक्रियामा सहभागी हुनु आवश्यक रहेको बताएका छन् । ‘सांसद गयल हुने भन्ने हुँदैन, त्यसैले अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरिएको हो,’ उनले भने ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाद्वारा जारी ह्वीपमा, पार्टीका सबै सांसदहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न निर्देशन दिइएको छ । ह्वीपमा भनिएको छ, ‘वैशाख २८ गते बस्ने प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरिने कार्यसूची रहेकाले एमाले संसदीय दलका सम्पूर्ण सदस्यलाई अनिवार्य रूपमा बैठकमा उपस्थित भई समर्थन गर्न ह्वीप जारी गरिएको हो ।’