टोकियो – जापानको राजधानी टोकियोमा विदेशी नागरिकहरूका लागि नक्कली बसोबास परिचयपत्र (रेजिडेन्स कार्ड) बनाएको आरोपमा दुई जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले हजारौँ संख्यामा नक्कली परिचयपत्र तयार पारेको हुन सक्ने आशंका गरिएको छ ।
पक्राउ पर्नेमा ३५ वर्षीय दु जिनजियाङ र ३६ वर्षीय ली लङ रहेका छन् । दुवै जना टोकियोको ओटा वार्डमा बसोबास गर्दै आएका थिए । प्रहरीका अनुसार, उनीहरूले अन्य केही व्यक्तिहरूसँग मिलेर यस वर्षको अप्रिल ८ तारिखतिर करिब ३० वटा नक्कली बसोबास कार्ड घरमै कम्प्युटर प्रयोग गरी बनाएका थिए। अर्डरहरू उनीहरूले सामाजिक सञ्जालमार्फत लिने गरेका थिए ।
दु र लीलाई बुधबार पक्राउ गरिएको हो। प्रहरीले यसअघि नै उनीहरूलाई भिसाको अवधि नाघेर बसेको आरोपमा अनुसन्धान थालेको थियो । प्रहरीले दुलाई उद्धृत गर्दै भनेको छ, ‘मैले घरमै काम गर्थें ताकि कोही थाहा नपाओस् ।’
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, दुले अन्य व्यक्तिहरूद्वारा उपलब्ध गराइएको नक्कली व्यक्तिगत विवरण प्रयोग गरी कार्डहरू प्रिन्ट गर्ने गर्थे भने लीले ती कार्डहरू हुलाकमार्फत पठाउने काम गर्दथे । प्रत्येक नक्कली कार्ड करिब १० हजार येन (अन्दाजी ६९ अमेरिकी डलर) मा बेचिने अनुमान गरिएको छ ।
नाेभेम्बरदेखि करिब पाँच महिनाको अवधिमा उनीहरूले झण्डै ७ हजार ५ सय नक्कली परिचयपत्र तथा ड्राइभिङ लाइसेन्सजस्ता कागजातहरू बनाएको हुन सक्ने प्रहरीको अनुमान छ । जापानमा तीन महिनाभन्दा बढी बसोबास गर्ने विदेशी नागरिकहरूलाई बसोबास परिचयपत्र दिइन्छ, जसमा नाम, जन्ममिति, भिसा स्थिति र रोजगारीको अधिकारसम्बन्धी जानकारी उल्लेख हुन्छ ।