समाचार सुन्नुहोस :
काठमाडौँ – चार दिनसम्म चलेको सीमा पारको हिंसात्मक झडपपछि भारत र पाकिस्तान दुबैले पूर्ण र तत्काल युद्धविराम गर्ने सहमति जनाएका छन्। शनिबार साँझदेखि लागू भएको यस सहमतिले क्षेत्रीय तनावलाई कम गर्ने आशा गरिएको छ।
पाकिस्तानका उपप्रधानमन्त्री इसाक डार र भारतका विदेश सचिव विक्रम मिस्रीले यस सम्झौताको औपचारिक घोषणा गरे। यसअघि, दुवै देशका सैन्य प्रमुखहरू (डीएमजीओ) बीच टेलिफोन वार्ता भएको थियो। त्यसपछि नै युद्धविरामको निर्णय सार्वजनिक भएको हो।
भारतीय विदेश सचिव मिस्रीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “आज साँझ ५ बजेदेखि (भारतीय समयअनुसार) जमीन, हवाई र समुद्रमा सबै प्रकारका युद्धक गतिविधि रोकिनेछ।” यो सहमति मे १२ मा फेरि हुने वार्ताको आधार बनेको छ। पाकिस्तानका विदेश मन्त्री डारले यो सम्झौता “आंशिक होइन, पूर्ण युद्धविराम” भएको बताए। उनका अनुसार, यसले गर्दा दुवै देशबीच सैन्य संवाद र हटलाइन प्रणाली पनि सक्रिय भएको छ। अब डीएमजीओ स्तरमा यस सम्झौताको कार्यान्वयनमा नजर राखिने छ।