काठमाडौं – भारत-पाकिस्तान सीमावर्ती क्षेत्र राजौरीमा पाकिस्तानतर्फबाट भएको गोलीबारीमा जम्मूकश्मीर प्रशासनका एक उच्च अधिकारीको मृत्यु भएको भारतले दाबी गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार राजौरीस्थित घरमा पाकिस्तानी हमलाको निशाना बनेर अतिरिक्त जिल्ला विकास आयुक्त (एडिशनल डिभिजनल कमिस्नर) राजकुमार थापाको निधन भएको हो ।
जम्मुकश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले शनिबार सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत थापाको मृत्यु पुष्टि गर्दै गहिरो शोक व्यक्त गरे । ‘राजौरीबाट दुःखद खबर आएको छ,’ मुख्यमन्त्रीले लेख्नुभयो, ‘हामीले जम्मुकश्मीर प्रशासन सेवाका एक समर्पित र निष्ठावान अधिकारी गुमाएका छौँ । हिजोमात्रै उहाँ उपमुख्यमन्त्रीसँगै जिल्लामा रहनुभएको थियो र मेरो अध्यक्षतामा सम्पन्न अनलाइन बैठकमा सहभागी हुनुहुन्थ्यो ।’
मुख्यमन्त्री अब्दुल्लाहका अनुसार पाकिस्तानी सेनाले राजौरी शहरलाई लक्षित गरी गरेको गोलीबारीमा थापाको घर सीधै निशानामा परेको थियो । हमलामा अन्य क्षतिको विवरण भने हालसम्म सार्वजनिक भएको छैन। भारतीय सुरक्षाफौजले पाकिस्तानको आक्रमणको जवाफ दिएको जनाएको छ ।
गोलीबारीको यो घटना भारतले सुरु गरेको ‘अपरेशन सिन्दूर’ र पाकिस्तानले त्यसविरुद्ध सुरु गरेको ‘बुनयान-उल-मरसूस’ नामक सैन्य कारबाहीसँग सम्बन्धित रहेको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार पाकिस्तानले भारतको हवाई सेना र मिसाइल भण्डारण क्षेत्रहरूलाई निशाना बनाउँदै कारबाही थालेको छ ।