टोकियो – जापानको अध्यागमन कानुन उल्लंघन गरेको अभियोगमा थप दुई जना नेपाली नागरिकलाई यसैसाता निष्काशन गरेको छ । पन्त र थापा थर भएका ती दुई नेपालीलाई क्रमशः थाइ एयरलायन्स र थाइ लायन एयरमार्फत नेपाल फर्काइएको हो ।
जापानी अध्यागमन स्रोतका अनुसार उनीहरूलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो, सोधपुछ गर्दा कानुन उल्लंघन परेको पाइएपछि अध्यागमन सम्बन्धी कानुनी प्रक्रिया पूरा गरी नेपाल डिपोर्ट गरिएको हो । यद्यपि, ती नेपालीले कुन-कुन नियम उल्लंघन गरेका थिए भन्ने विवरण सार्वजनिक गरिएको छैन । दुवै नेपाली काठमाडौं आइपुगेका छन् ।
पछिल्लो समय जापानले आप्रवासन नीति कडाइ गर्दै अवैध रूपमा बसोबास गर्ने विदेशी नागरिकमाथि निगरानी र कारबाही तीव्र बनाएको छ । रोजगारी, अध्ययन वा अन्य प्रयोजनमा प्रवेशाज्ञा (भिसा) लिई जापान पुगेका केही विदेशी आप्रवासीहरू नियम उल्लंघनमा संलग्न भएको भन्दै कारबाहीमा परिरहेका छन् । यो नीतिको प्रत्यक्ष असर नेपाली समुदायमाथि पनि पर्न थालेको देखिन्छ ।
अध्यागमन कानुन उल्लंघन, अवैधरूपमा बसोबास, कार्यक्षेत्रमा होहल्ला, भिसाको सर्त उल्लंघन, वा म्याद नवीकरण नगरी बसिरहनुजस्ता कारणले सयौँ नेपालीलाई जापानले स्वदेश फर्काएको छ । श्रम विज्ञहरूका अनुसार, जापानमा रहेका केही नेपालीहरू सुरुवाती भिसा (जस्तै- कामदार, विद्यार्थी, इन्टेर्नसिप, भ्रमण, धार्मिक, वा इन्भेस्टमेन्ट) को उद्देश्य विपरीत रोजगारीमा लाग्ने, निर्धारित स्थान वा रोजगारदाता छोडेर अन्यत्र काम गर्ने, अवैध बिचौलियामार्फत जापान पुगेको पाइनेजस्ता क्रियाकलापले कानुनी उल्झनमा पर्ने गरेका छन् ।
-
किन बढ्दैछ डिपोर्ट ?
कानुनी जानकारीको अभाव : जापानको अध्यागमन कानुन जटिल छ । नेपाली युवाहरूले भिसाको खाल र त्यसका सर्तहरू नबुझी जापान पुग्ने क्रम बढ्दो छ ।
बिचौलिया र मानव तस्कर : केही बिचौलियाले भ्रम फैलाएर अवैध बाटोबाट जापान पठाउँछन्, जसले युवालाई समस्या पार्दछ ।
भाषा र संस्कृतिमा अवरोध : कानुन पालना गर्न भाषा बुझ्न जरुरी हुन्छ । जापानको कडाइप्रति सतर्कता नअपनाउँदा नेपालीहरू जोखिममा पर्छन् ।
अधिकारभन्दा काम प्राथमिक : धेरै नेपाली श्रमिकहरू कानुनी प्रक्रिया र कागजात व्यवस्थापनभन्दा काम खोज्नैमा केन्द्रित हुन्छन् । यसले उनीहरूलाई समस्यामा पार्न सक्छ ।
जापान मात्र होइन, हालका दिनमा अमेरिका, क्यानडा, मलेसिया, फ्रान्स, माल्दिभ्स, दक्षिण कोरिया, जर्मनी लगायत देशहरूले पनि आफ्ना मुलुकमा रहेका विदेशी कामदार र आप्रवासीहरूको निगरानी तथा नियमन कडा बनाएका छन् ।
जानकारहरुका अनुसार श्रम आप्रवासनमा प्रस्टता, कानुनी जानकारी र सचेतनाको अभावमा नेपाली युवा यस्ता समस्यामा पर्न थालेका छन् । वैदेशिक रोजगारीको चाहनामा आवश्यक कानुनी प्रक्रिया पुरा नगरी विदेशी भूमिमा प्रवेश गर्दा समस्यामा पर्ने खतरा उच्च हुन्छ ।