काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा आगजनी तथा तोडफोड गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति गुल्मीका मनबहादुर कालामगर (उर्फ मन्धिर) रहेको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।
कालामगरलाई काठमाडौं प्रहरीको विशेष टोलीले तारकेश्वर क्षेत्रबाट पक्राउ गरेको हो । प्रहरीले चैत १५ गते राजसंस्थाको समर्थनमा आयोजित प्रदर्शनका क्रममा उत्पन्न अराजक घटनामा उनको संलग्नता पुष्टि गरेपछि खोजी गरी पक्राउ गरेको जनाएको छ ।
सो दिन बालकुमारी करिडोरमा रास्वपा सचेतक परियार चढेको बीएबी १३८२ नम्बरको सेतो स्कारपियो गाडीमा प्रदर्शनकारीहरूले आगजनी गरेका थि ए। घटनापछि व्यापक निन्दा र चासो व्यक्त गरिएको थियो ।
प्रहरी अनुसन्धानबाट कालामगरले राष्ट्रिय मानवअधिकार आयोगका कर्मचारीमाथि समेत अभद्र व्यवहार गरेको पुष्टि भएको छ । ती कर्मचारी आफ्नो कर्तव्य पालनाका क्रममा घटनास्थलमा रहेका थिए । प्रहरीका अनुसार कालामगर नेपाली सेनाबाट अवकाश प्राप्त व्यक्ति हुन् ।
हाल उनीमाथि सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको, सरकारी काममा अवरोध पुर्याएको र अभद्र व्यवहार सम्बन्धी कानुनी प्रावधानअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।