समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि थप एक आपराधिक मुद्दा दर्ता गरिएको छ। तीनकुनेमा चैत १५ गते भएको घटनापछि पक्राउ परेका मिश्रमाथि यसअघि राज्यविरुद्धको अपराध र संगठित अपराध सम्बन्धी मुद्दा दायर गरिएको थियो। तर, बिहीबार उनीमाथि थप आपराधिक उपद्रवसम्बन्धी आरोप पनि लगाइएको छ।
नयाँ मुद्दा लगाइएपछि मिश्रले त्यसप्रति गम्भीर आपत्ति जनाएका छन्। जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि उपस्थित गराइएका मिश्रले न्यायाधीशसमक्ष बोल्दै राज्यले फेरि आफूलाई “कालो टिका” लगाएको आरोप लगाए। उनका अनुसार बारम्बार मुद्दा थपिँदा उनीमाथि राजनीतिक पूर्वाग्रहले प्रेरित भएर कारबाही गरेको आरोप लगाएका छन्।
‘आज ४२ औं दिन राज्यले मेरो निधारमा फेरि तेस्रो कालो टिका लगाइदिएको छ। ४१ दिनसम्म राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरको टिका बोकेर हिँडेको थिएँ,’ मिश्रले न्यायाधीशसमक्ष भनेका छन्, ‘फेरि आपराधिक उपद्रवको टिका लगाइएको छ। त्यो टिका पुछ्ने अधिकार, निष्ठा यो न्यायालय र बेञ्चमा हुन्छ भनेर बिश्वास गरेको छु।’