समाचार सुन्नुहोस :
काठमाडौँ – पूर्वसांसद रेशम चौधरी नक्कली अदालतको पत्रका आधारमा पक्राउ परेर जेल चलान भएको घटनाबारे गृहमन्त्री रमेश लेखकले संसदमा स्पस्टिकरण दिएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले चौधरीको पक्राउबारे जवाफ माग गरेपछि गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले सर्वोच्च अदालतको पत्रका आधारमा चौधरीलाई पक्राउ गर्न निर्देशन दिएको जानकारी दिए। उक्त पत्र सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टले लिएर थापासमक्ष पुगेका थिए। गृहमन्त्रीका अनुसार फैसलाको कार्यान्वयन गर्ने जिम्मेवारी प्रहरीको भएकाले थापाले सो पत्रमा आधारित भएर जिल्ला प्रहरी परिसर काठमाडौँलाई निर्देशन दिएका थिए।
तर, उक्त पत्रमा चौधरीसम्बन्धी नभई असम्बन्धित व्यक्तिको फैसलालाई उद्धृत गरिएको पाइएपछि चौधरीको पक्राउप्रति व्यापक आलोचना भएको थियो। सोही आधारमा उनी डिल्लीबजार कारागार चलान गरिएका थिए। बादमा सर्वोच्च अदालतले उक्त पत्र नक्कली भएको पुष्टि गर्दै अर्को पत्रमार्फत चौधरीलाई कारागारमुक्त गर्न आदेश दिएको थियो। सोही दिन चौधरी रिहा भए।
यस घटनामा संलग्न रहनसक्ने भन्दै नक्कली पत्र तयार पारेको आरोपमा अदालतका अधिकृत महिमानसिंह विष्ट पक्राउ परेका छन्। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।