टोकियो – जापानमा सार्वजनिक स्थानहरूमा हराएका वस्तुहरू फेला पार्ने प्रक्रिया अब प्रविधिमैत्री र प्रभावकारी बन्दै गएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोगबाट रेल स्टेशन, विमानस्थल, बजार र प्रहरी कार्यालयजस्ता स्थानमा हराएका सामानहरू छिटो र भरपर्दो तरिकाले मालिकसम्म फर्कन थालेका छन् ।
टोकियोस्थित सूचना प्रविधि कम्पनी Find Inc. द्वारा विकास गरिएको ‘लस्ट एन्ड फाउन्ड प्लेटफर्म’ हालसम्म देशभरका करिब २ हजार ३ सय स्टेशन तथा सार्वजनिक स्थानहरूमा सञ्चालनमा आइसकेको छ । साप्पोरो सिटी ट्रान्सपोर्टेशन ब्युरो, हानेदा विमानस्थल, टोकियो र ओइता प्रान्तीय प्रहरी कार्यालयजस्ता निकायहरूले यो प्रविधि अंगालिसकेका छन् ।
सामान फेला परेपछि कर्मचारीहरूले त्यसको फोटो खिचेर रङ, आकार, बनावटलगायतका विवरणहरू एआई प्रणालीमा प्रविष्ट गर्छन् । यो विवरण डाटाबेसमा सुरक्षित भई भविष्यमा सोधपुछ गर्ने व्यक्तिले सजिलै जानकारी पाउन सक्छ । प्रयोगकर्ताले Line जस्ता म्यासेजिङ एपमार्फत हराएको वस्तु कहाँ हरायो, कस्तो देखिन्थ्यो भन्ने विवरण वा फोटो दिएर खोजी गर्न सक्छन् । यदि फोटो छैन भने, मिल्दोजुल्दो तस्बिर छान्न मिल्ने सुविधा पनि दिइएको छ ।एआई प्रणालीले प्रयोगकर्ताले प्रविष्ट गरेको विवरणका आधारमा सम्भावित वस्तुहरूको सूची प्राथमिकताको आधारमा देखाउँछ । विवरण स्पष्ट नभए पनि प्रणालीले मिल्न सक्ने वस्तुहरू सुझाउने क्षमता राख्दछ । यदि वस्तु प्रयोगकर्ताकै भएको ठहर भएमा, प्रणालीले वस्तु राखिएको स्थानको जानकारीसमेत दिन्छ ।
केइओ कर्पोरेशनजस्ता रेल सेवा प्रदायकहरूलाई यो प्रणाली लागू गरेपछि हराएका वस्तु फिर्ता हुने दर उल्लेख्यरूपमा वृद्धि भएको छ । पहिले १० प्रतिशतभन्दा कम दरमा वस्तु फिर्ता हुने गरेकोमा अहिले यो ३० प्रतिशत पुगेको छ । स्वचालित मोनोरेल सेवा युरिकामोमेले यो सेवा लागू गरेपछि हराएका वस्तु खोज्न खर्चिने समय र श्रम दुवै घटेको बताएको छ ।
यसअघि Excel जस्ता प्रणालीमा वस्तुहरूको रेकर्ड राख्ने चलन थियो, जसले खोजी कार्यलाई ढिलो पार्थ्यो । तर अहिले डिजिटल डाटाबेसमार्फत यो प्रक्रिया छिटो, भरपर्दो र प्रयोगकर्ता-मैत्री बनेको छ । शिम्बासी स्टेशनका अधिकारी कियोमिचि मानोका अनुसार, यात्रुहरूले धन्यवाद दिँदै सन्देश पठाउने क्रम बढेको छ ।टोकियो र ओइता प्रान्तीय प्रहरी कार्यालयहरूले पनि हराएका वस्तुहरू पहिचान र फिर्ता गर्ने प्रक्रियामा यो प्रणाली प्रयोग गरिरहेका छन् । ओइता प्रहरीका अनुसार, अब गोदाममा गएर वस्तु मिलान गर्नुपर्ने झन्झट हटेको छ, जसले फिर्ता प्रक्रिया द्रुत बनाएको छ । फुकुओकास्थित हाकाता स्टेशन क्षेत्रका व्यावसायिक भवन र भूमिगत शपिङ सेन्टरहरूमा पनि यो सेवा लागू गरिएको छ । पहिले बिभिन्न ठाउँमा गई सोध्नुपर्ने अवस्था थियो भने अब एउटै प्लेटफर्मबाट सम्पर्क गर्न सकिने भएकाले सेवाग्राहीलाई राहत मिलेको छ ।
Find Inc. का प्रमुख कार्यकारी अधिकृत र्यु वाडाका अनुसार, सेवा सुरु भएको २०२३ को जूनदेखि २०२५ को मार्चसम्म करिब १५ लाख हराएका वस्तु डाटाबेसमा दर्ता भएका छन्, जसमध्ये झन्डै ४ लाख ८० हजार सामान मालिकसमक्ष फिर्ता भइसकेका छन् । ‘अहिले पनि मानिसहरूले हराएका सामान खोज्न एक ठाउँबाट अर्को ठाउँमा फोन गर्नुपर्ने बाध्यता छ,’ वाडा भन्छन्, ‘तर जति धेरै संस्थाहरूले यो सेवा प्रयोग गर्छन्, हराएका वस्तु पाउने सम्भावना त्यति नै बढ्छ ।’