टोकियो – जापानको टोकियो उपनगरस्थित एक विद्यालयमा आक्रमण गरी पाँच शिक्षकलाई सामान्य घाइते बनाएको आरोपमा दुई जना पुरुष पक्राउ परेका छन् । घटना बिहीबार टोकियोको पश्चिमी क्षेत्रमा पर्ने ताचिकावा शहरको सार्वजनिक ‘डाइसान प्रारम्भिक विद्यालय’मा भएको हो ।
ती दुई व्यक्तिले विद्यालयमा प्रवेश गरी झ्याल फुटाएका थिए र शिक्षकहरूमाथि आक्रमण गरेका थिए । प्रहरीका अनुसार आक्रमणमा संलग्नमध्ये एकको उमेर २० वर्ष हाराहारीमा र अर्काको ४० को दशकमा छ । उनीहरूलाई घटनास्थलमै नियन्त्रणमा लिइएको र उनीहरूविरुद्ध आक्रमणको आरोपमा अनुसन्धान अघि बढाइएको छ ।
प्रारम्भिक अनुसन्धानबाट थाहा हुन आएको अनुसार विद्यालयमा एक अभिभावक परामर्शका लागि आएका थिए र ती अभिभावकले नै ती दुई पुरुषलाई विद्यालय परिसरमा बोलाएका थिए । घटनामा कुनै बालबालिका घाइते भएको खबर भने छैन ।
विद्यालयको वेबसाइट अनुसार गत वर्ष अप्रिलसम्म उक्त विद्यालयमा करिब ५२० जना विद्यार्थी अध्ययनरत थिए । हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ भने विद्यालयको सुरक्षाको विषयमा पनि बहस सुरु भएको छ ।