काठमाडौं – भारत र पाकिस्तानबीच जारी सैन्य तनावको पृष्ठभूमिमा नेपालले आन्तरिक सुरक्षा सुदृढ गर्ने र संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी बढाउने निर्णय गरेको छ । गृह मन्त्रालयमा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले देशभित्र अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा संयन्त्रलाई उच्च सतर्क अवस्थामा राख्ने निर्णय गरेको हो ।
बैठक गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सम्पन्न भएको थियो । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार भारत-पाकिस्तानबीचको द्वन्द्वले नेपालमा पार्न सक्ने सम्भावित असरबारे गहिरो छलफल गरिएको छ । ‘देशको राष्ट्रिय सुरक्षा तथा आन्तरिक स्थायित्वमा कुनै असर नपरोस् भन्ने उद्देश्यले नेपाल-भारत सीमा क्षेत्र, विमानस्थल र अन्य संवेदनशील स्थानहरूमा निगरानी बढाइनेछ,’ प्रवक्ता तिवारीले भने ।
उनका अनुसार बैठकमा सम्भावित चुनौतीहरूको पूर्वतयारी, सुरक्षा संयन्त्रबीच समन्वय र सूचनाको आदानप्रदानलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । बैठकमा भारत तथा पाकिस्तानमा रहेका नेपाली नागरिकहरूको सुरक्षाबारे पनि गम्भीर चासो व्यक्त गरिएको थियो । सो सम्बन्धमा आवश्यक समन्वय गर्न विदेश मन्त्रालयसहित सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन दिइएको बताइएको छ ।
प्रवक्ता तिवारीका अनुसार ‘सीमामा कडाइ, विमानस्थलहरूमा निगरानी, सुरक्षा सञ्जाल सशक्त पार्नेलगायतका निर्णय बैठकमा भएका छन् ।’ भारत र पाकिस्तानबीच जारी सैन्य तनाव गहिरिँदै जाँदा त्यसको प्रभाव नेपालमा नपरोस् भन्ने उद्देश्यले गरिएको सुरक्षा तयारीलाई सरकारले पूर्वसावधानीका रूपमा लिएको हो ।