समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठले दिएको राजीनामा तत्काल स्वीकृत नहुने भएको छ। पार्टी सभापति रवि लामिछानेले महाधिवेशनसम्म पर्खन आग्रह गरेपछि सुमनाको पदत्याग प्रक्रियामा रोक लगाइएको हो। श्रेष्ठले चैत्र १७ गते सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन्। तर, वैशाख ४ गते मात्र पार्टीको केन्द्रीय समिति बैठकमा उक्त विषयमा औपचारिक छलफल भयो। बैठकमा अधिकांश नेताहरूले सुमनालाई महाधिवेशनसम्म कुर्नको लागि सुझाव दिएका थिए।
पछिल्लो समय कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति डा. स्वर्णीम वाग्ले र महामन्त्री कबिन्द्र बुर्लाकोटीले श्रेष्ठसँग संवाद गरी राजीनामा फिर्ता गराउन प्रयास गरिरहेका छन्। यद्यपि, व्यस्त तालिका र समयको अभाबले विस्तृत छलफल हुन सकेको छैन। सुमना भने आफ्नो निर्णयमा अडिग रहँदै राजीनामा स्वीकृत हुनुपर्ने पक्षमा छिन्। तर, पार्टी नेतृत्व उनको निर्णय परिवर्तन गराउन इच्छुक देखिन्छ।
रास्वपाको विधान अनुसार सहमहामन्त्रीको राजीनामा सभापतिले स्वीकृत गर्नुपर्छ। तर, लामिछाने हिरासतमा रहेकाले कार्यवाहक सभापतिको भूमिकामा अर्याल छन्। जसले हालसम्म निर्णय लिएका छैनन्। हाल सुमना शिक्षा उपसमितिको काममा व्यस्त छिन् भने पार्टीका शीर्ष नेताहरू पनि आ-आफ्ना जिम्मेवारीमा छन्। छलफल भइरहे पनि निष्कर्षमा पुगिएको छैन।