काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ललितपुरस्थित एक रिसोर्टमा लडेको खुलासा भएको छ । उनी मंगलबार राति ललितपुरको लाँकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा बाथरूममा चिप्लिएर लडेको खुलेको हो ।
लडेपछि उनलाई तत्कालै अस्पताल लगिएको थियो । अध्यक्ष प्रचण्ड मंगलबार साँझ छोरी गंगा दाहाल, ज्वाइँ र केही नजिकका आफन्तसहित लाँकुरी भञ्ज्याङको टेरेस रिसोर्ट पुगेका थिए । उनीहरू त्यहाँ रात बिताउने योजना बनाएर गएका थिए । लडेपछि राति दुई बजेतिर मेडिसिटी अस्पताल ल्याइएको बुझिएको छ ।
अस्पताल स्रोतका अनुसार, उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ, स्वास्थ्य अवस्था सामान्य छ । सामान्य उपचारपछि बिहान साढे चार बजेतिर डिस्चार्ज गरिएको हो । घटनापछि सामाजिक सञ्जालमार्फत गंगा दाहालले बाथरूममा चिप्लिएर अध्यक्ष प्रचण्डको निधारमा सामान्य चोट लागेको जानकारी दिएकी थिइन् । तर, उनले घटनास्थल कहाँ हो भन्ने खुलाइनन् ।
टेरेस रिसोर्ट काठमाडौं उपत्यकाका उच्चस्तरीय र महँगा रिसोर्टहरूमध्ये पर्दछ । रिसोर्टको वेबसाइटअनुसार, त्यहाँको सामान्य कोठाको मूल्य नै ३१ हजार ७२५ रूपैयाँ पर्छ ।