समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखापत्र संस्थानले १२५ औं वर्ष प्रवेश गरेका अवसरमा आयोजित कार्यक्रममा गोरखापत्र अब स्वतन्त्र रहेको र कुनै पनि शासकीय हस्तक्षेपविना समाचार प्रकाशन गर्न सक्षम भएको बताएका छन्। उनका अनुसार राणा तथा राजतन्त्रकालमा प्रेस स्वतन्त्रता सीमित थियो, तर अहिले गोरखापत्रलाई प्रधानमन्त्रीबाट कुनै निर्देशन, दबाब वा इशारा दिइँदैन।
प्रधानमन्त्री ओलीले गोरखापत्रले ‘समृद्ध नेपाल, सुखी नेपाली’ जस्ता राष्ट्रिय आकांक्षाहरूलाई सघाउँदै आएको र मुलुकको भाषा, संस्कृति, सभ्यता तथा अर्थतन्त्रको प्रवर्द्धनमा योगदान पुर्याएको स्मरण गरे।
उनले पपुलिस्ट प्रवृत्तिका सञ्चारमाध्यमहरूको चुनौती गम्भीर रहेको उल्लेख गर्दै गोरखापत्रले तथ्यमा आधारित पत्रकारिता गर्दै सत्यतर्फ लाग्नुपर्ने बताए। “कृत्रिम बौद्धिकता र नकारात्मकता फैलाउने सञ्चारमाध्यमसँग गोरखापत्रले प्रतिस्पर्धा गर्नुपर्नेछ,” उनले भने।
कार्यक्रममा प्रधानमन्त्री ओलीले वरिष्ठ पत्रकार विजय चालिसेसहित उत्कृष्ट पत्रकार र कर्मचारीहरूलाई सम्मानित गर्दै गोरखापत्रले जनतामुखी सूचना, शिक्षामूलक सामग्री र संस्कृतिको संरक्षणमा अग्रणी भूमिका खेल्दै आएको प्रशंसा गरे।