काठमाडौं – भारतले पाकिस्तानमा गरेको हवाई आक्रमणपछि दुई छिमेकी परमाणु शक्तिहरूबीचको तनाव थप उत्कर्षमा पुगेको छ । पछिल्लो घटनाक्रममा पाकिस्तानले भारतीय वायुसेनाका पाँच लडाकु विमान खसालेको दाबी गर्दै स्थितिलाई थप जटिल बनाएको छ ।
पाकिस्तानी सेनालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएन ले जनाएको अनुसार, खसालिएका लडाकु विमानहरूमा भारतका तीन राफेल जेट, एक मिग-२९, एक एसयू-३० र एक ड्रोन छन् । यद्यपि, यी दाबीहरूको स्वतन्त्र पुष्टि भने भएको छैन ।
बुधवार बिहान भारतले पाकिस्तानको पञ्जाब प्रान्त र पाकिस्तान प्रशासित कश्मीरमा ‘आतंकवादी पूर्वाधार’ लक्ष्यित गरी मिसाइल आक्रमण गरेको थियो । भारतीय सञ्चारमाध्यमले यो कारबाहीलाई जम्मु-कश्मीरको पहलगाममा पर्यटकहरूमाथिको आतंकवादी आक्रमणको प्रतिशोधको रूपमा चित्रण गरेका छन्। उक्त घटनामा २६ जनाको ज्यान गएको थियो, जसमा एक नेपाली नागरिकसमेत थिए ।
भारतले आक्रमणलाई ‘सर्जिकल स्ट्राइक’ शैलीमा आतंकवादी अड्डाहरूको ध्वस्तिकरण भनेर प्रस्तुत गरे पनि पाकिस्तानले यसको प्रतिवाद गर्दै आमनागरिकको ज्यान गएको आरोप लगाएको छ । पाकिस्तानी अधिकारीहरूले पञ्जाब र कश्मीर क्षेत्रका पाँच स्थानमा कोटली, अहमदपुर पूर्व, मुजफ्फराबाद, बाग र मुरिदकेमा गम्भीर क्षति भएको जनाएका छन् ।
भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा बुधबार बिहानदेखि निरन्तर गोलीबारी र गोला प्रहार भइरहेको पुष्टि भएको छ। पाकिस्तान प्रशासित कश्मीरमा रहेका सीएनएन का पत्रकारले धेरै स्थानमा शक्तिशाली विस्फोटहरू सुनिएको बताएका छन् । उता, भारत प्रशासित कश्मीरको राजधानी श्रीनगर मा पनि विस्फोटको आवाज सुनिएको र विमानस्थल अस्थायी रूपमा नागरिक उडानका लागि बन्द गरिएको जानकारी दिइएको छ ।