समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीले सरकारको प्राथमिकता देशको विकासमा नभइ नेताहरूलाई पाल्न बाह्य ऋणको भर पर्नेतर्फ केन्द्रित भएको आरोप लगाएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्दै शाहीले सार्वजनिक ऋण निरन्तर बढ्दो अवस्थामा रहेको उल्लेख गरे। उनका अनुसार, सार्वजनिक ऋण घटाउनु पर्ने बेला अझै तीव्र गतिमा बढ्दै जानु सरकारको गैरजिम्मेवारीपनको प्रतीक हो। शाहीले विकासको नाममा लिइने ऋणले जनता होइन, सत्तामा बसेका केही नेताको स्वार्थ मात्रै पूरा भइरहेको दाबी गरे।
उनले भने, ‘२०७४ सालमा सार्वजनिक ऋण करिब ८ खर्ब थियो, संघीयता र प्रदेश लागू गरिएपछि अहिले २६ खर्ब ११ अर्ब ६ करोड पुग्यो । यो पैसा कसले तिर्ने ?, जनताकै करबाट होइन ?, ऋण ल्याउँदै भएभरका नेता, छोटे नेता पाल्ने हो भने उधोतिर देश लाग्ला नि !।’ सरकारले ल्याएको नीति तथा कार्यक्रम जनताका लागि भने नल्याइएको उनले बताएका छन् । ‘तीन तहको सरकार छ, ३० थरीको कर छ तर न निःशुल्क स्वास्थ्य सेवा छ, न निःशुल्क शिक्षा दियो अनि किन कर तिर्ने ?, कर तिर्ने जनता, जनताकै सेवा सुविधाका लागि भने नीति कार्यक्रममा आएन’, उनले भने ।