काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)को हालै सम्पन्न एकता महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले सोमबार राष्ट्रपति कार्यालय, शीतल निवासमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेको छ ।
भेटका क्रममा प्रतिनिधिमण्डलले सर्वोच्च अदालतको परमादेशअनुसार काठमाडौँमा सफलतापूर्वक सम्पन्न महाधिवेशन तथा त्यसबाट सर्वसम्मतिमा निर्वाचित नयाँ कार्यसमितिबारे राष्ट्रपतिलाई जानकारी गराएको थियो । साथै, गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखिएका व्यवहारिक समस्याबारे पनि राष्ट्रपति समक्ष विषयवस्तु राखिएको थियो ।
राष्ट्रपति पौडेलले संघलाई एकता र समन्वयमा अघि बढ्न सुझाव दिँदै नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिको सक्रिय चासो र सहयोगी धारणा प्रति आभार व्यक्त गर्दै अध्यक्ष महेश कुमार श्रेष्ठले संघका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।
गैरआवासीय नेपालीहरूका हकहितका सवालमा राष्ट्रपतिको सरोकार उत्साहजनक रहेको भन्दै एनआरएनएको कार्यसमितिले आगामी दिनमा प्रभावकारी कार्य सम्पादनमा प्रतिबद्धता व्यक्त गरेको छ ।