टोकियो – ओसाकामा सडक पार गर्दै गरेका सातजना बालबालिकामाथि जानीजानी कार चलाएको अभियोगमा पक्राउ परेका एक पुरुषलाई अभियोजनको लागि पठाइएको छ । प्रहरीले घटनालाई हत्या प्रयासको रूपमा अनुसन्धान गरिरहेको छ ।
२८ वर्षीय युकी याजावालाई घटनास्थलबाटै पक्राउ गरिएको थियो । उनले प्रहरी समक्ष दिएको बयानमा भनेका छन्, ‘म जीवनबाट दिक्क भइसकेको थिएँ । ती बालबालिकामाथि कार चलाएर मार्ने प्रयास गरेँ ।’
प्रहरीका अनुसार दिउँसो १:३५ बजे ओसाकाको सडकमा दोस्रो र तेस्रो कक्षामा अध्ययनरत बालबालिका घर फर्किंदै गर्दा कारले तीव्र गतिमा ठक्कर दिएको थियो । सो घटनामा दुई जना गम्भीर घाइते भएका छन् भने पाँच जना सामान्य घाइते भएका छन् । घटनास्थलमा ब्रेक लगाइएको कुनै चिन्ह नदेखिएको प्रहरीको भनाइ छ, जसले कार रोक्ने कुनै प्रयास नगरिएको संकेत गर्दछ ।
अनुसन्धान स्रोतहरूका अनुसार उक्त सवारी साधन मंगलबार जेआर शिन-ओसाका स्टेशन नजिकैबाट भाडामा लिइएको थियो । प्रहरीले घटनालाई अत्यन्त गम्भीर रूपमा लिएर याजावाविरुद्ध कडा कानुनी कारबाही अघि बढाएको जनाएको छ ।