काठमाडौं – मुख्य प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलमाथि तीव्र प्रहार गर्दै दुई तिहाइको बहुमतले जन्माएको अहंकारको बेलुन अब फुटिसकेको दाबी गरेका छन् ।
सोमबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा दाहालले सरकारप्रति कडा टिप्पणी गरे । उनले महिनौँदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त गर्न नसकेको सरकारको असक्षमता, ढिलासुस्ती र सत्ता संचालनको शैलीप्रति प्रश्न उठाए । ‘यो दस महिनामा सरकार सुध्रिएन, सुध्रिन पनि चाहेन । किनभने सुधारका लागि यो सरकार बनेकै थिएन,’ दाहालले भने, ‘यो त निश्चित वर्गको स्वार्थ पूरा गर्न बनेको सरकार हो ।’
उनले सरकारभित्रैबाट प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाहरू पुग्ने अभिव्यक्ति सार्वजनिक हुनु स्वयंमा गम्भीर विषय भएको टिप्पणी गरे । ‘सरकार सञ्चालन संयन्त्रका सदस्यहरूबाटै यस्ता कुराहरू आउनु पुष्टि हो- सत्ता आज स्वार्थ समूहहरूको प्रभावमा छ,’ दाहालको टिप्पणी थियो ।
दाहालले सरकार गठन भएको १० महिना बितिसक्दा पनि कुनै ठोस सुधारको संकेत नदेखिएको उल्लेख गर्दै लोकसमक्ष गरिएको ७ बुँदे सहमति कार्यान्वयनमा कुनै प्रगति नभएको गुनासो गरे । साथै, सार्वजनिक संस्थानहरूमा ‘चरम राजनीतिक हस्तक्षेप’ भएको र नियुक्ति तथा निर्णयहरूमा ‘स्वार्थी समूहको प्रभाव’ स्पष्ट देखिएको बताए ।